
अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ । एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो ।
३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्र्याएको छ । यसअघि सन् १९८६ मा डिएगो म्याराडोनको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । यो जितपछि अर्जेन्टिनाले समग्रमा तेस्रोपटक विश्वकपको उपाधि उचालेको छ ।
पहिलो ८० मिनेटसम्म २–० गोलको अग्रता बनाएको अर्जेन्टिना सहज जिततर्फ उन्मुख देखिएको थियो । तर, ८० र ८१औँँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई नाटकीय रूपमा बराबरीमा ल्याए ।
त्यसपछि थपिएको ३० मिनेटभित्र दुवैतर्फबाट पुनः एक–एक गोल भयो । १०८औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई पुनः जिततर्फ डोर्याए । तर, ११८औँ मिनेटमा पेनाल्टीमा पुनः एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
ट्राई ब्रेक गर्न पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ, पुनः एकपटक अर्जेन्टिनाका गोलकिपर मार्टिनेट नायक सावित भए । र, अर्जेन्टिनाले खेल ४–२ गोलअन्तरले जित्यो ।