१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी लिमा
२o८१ बैशाख २४ सोमबार o९:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पेरुमा राजनीतिक संकट अन्त्य गर्न उच्चस्तरीय वार्ता 

Read Time : > 1 मिनेट
एजेन्सी लिमा
नयाँ पत्रिका लिमा
२o८१ बैशाख २४ सोमबार o९:४९:oo

पेरुमा संसद्ले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि गहिरिएको राजनीतिक संकट समाधान गर्न अधिकारीहरूले उच्चस्तरीय वार्ता गरेका छन् । राज्यका सबै निकायको प्रतिनिधित्व रहेको राज्य परिषद् र चर्चका नेताबीच राजधानी लिमामा तीन घन्टा बैठक भएको थियो ।

बैठकपछि नेसनल बोर्ड अफ जस्टिसका प्रमुख जोसे एभिलाले पेरुभियालीलाई हिंसा त्याग्न र अधिकारीहरूसँगको शान्तिपूर्ण वार्तामा संलग्न हुन आह्वान गरेका छन् । यस्तो वार्तालाई प्रवद्र्धन गर्न सरकारका मन्त्रीहरूले प्रदर्शन स्थलहरूको भ्रमण गर्ने पनि उनले जानकारी दिएका छन् । तर, नयाँ राष्ट्रपति डिना बोलुआर्टेले भने सञ्चार माध्यमलाई अहिलेसम्म कुनै अभिव्यक्ति दिएकी छैनन् । 

संसद्ले एक साताअघि राष्ट्रपति कास्टिलोलाई महाभियोग लगाएर हिरासतमा राखेपछि केही दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिने प्रयासमा २० भन्दा बढीको मृत्यु भएको छ । प्रदर्शनकारीको मृत्यु भएपछि दुई मन्त्रीले राजीनामा समेत दिएका छन् । बिहीबार मध्य अयाकुचो क्षेत्रमा सेना र कास्टिलो समर्थकबीचको झडपमा कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसको केही घन्टापछि नै शिक्षामन्त्री प्याट्रिसिया कोरियाले पदबाट राजीनामा दिएकी थिइन् । त्यस्तै, संस्कृतिमन्त्री जेयर पेरेजले पनि राजीनामा दिएका छन् । 

आन्दोलनको असर देशको पर्यटन उद्योगमा पनि परेको छ । प्रदर्शनकारीले स्थानीय एयरपोर्ट बन्द गरेपछि हजारौँ पर्यटक दक्षिण–पूर्वी सहर कुस्कोमा फसेका छन् । प्रदर्शनकारीले टर्मिनलमा आक्रमण गर्न खोज्दा विमानस्थल बन्द भएपछि करिब पाँच हजार पर्यटक सहरमा फसेको कुस्कोका मेयरले बताए । 

सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोमा प्रदर्शनकारीले मुख्य सडक र विमानस्थल अवरुद्ध गरेको देखाइएको छ । कुस्को सहर प्राचीन किल्ला माचुपिचुको प्रवेशद्वार हो, जहाँ बर्सेनि लाखौँ मानिसले भ्रमण गर्छन् । माचुपिचु पहाडको फेदीस्थित अर्को सानो सहरमा पनि रेलमार्ग बन्द भएपछि झन्डै आठ सय पर्यटक अलपत्र परेका छन् । केही पर्यटकले कुस्को फर्कने प्रयासमा रेल ट्र्याक हुँदै पैदलै सहर छाडेका छन् । 

पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । क्यास्टिलोले संसद् विघटन गर्दै देशमा संकटकाल लगाउने घोषणा गरेपछि देश एकाएक राजनीतिक अस्थिरतातर्फ धकेलिएको हो । तर, उनको योजना त्यतिवेला उल्टियो, जतिवेला उनले संसद् विघटन गर्नुअघि नै बहुमत संसद्ले उनलाई महाभियोग लगाइदिए । महाभियोगपछि हिरासतमा रहेका कास्टिलोमाथि विद्रोह र षड्यन्त्रको आरोपमा अनुसन्धान भइरहेको छ ।

तर क्यास्टिलोले भने सबै आरोप अस्वीकार गर्दै आफू नै देशको वैध राष्ट्रपति भएको दाबी गरेका छन् । प्रदर्शनकारीले संसद् अधिवेशनको अन्त्य, राष्ट्रपति बोलुआर्टेको राजीनामा र निर्धारित समयअगावै निर्वाचनको माग गरेका छन् । कांग्रेसले शुक्रबार अर्को वर्ष निर्वाचन गराउने प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

ad
ad