१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भारत र पाकिस्तानले चुनावमा हस्तक्षेप गरे : क्यानडा

दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूले क्यानडामा समानान्तर प्रभाव सञ्चालन गरिरहेका ओटावाको शीर्ष जासुस एजेन्सीको आरोप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१७:oo

क्यानडाको मुख्य गुप्तचर एजेन्सीले भारत र पाकिस्तानले देशको पछिल्लो दुई आमनिर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगायो । गतहप्ता सार्वजनिक गरिएको प्रतिवेदनलाई २०१९ र २०२१ को राष्ट्रिय मतदानमा चीन र रुसलगायत विदेशी राष्ट्रले गरेको हस्तक्षेपको छानबिन गर्ने संघीय आयोगको एउटा अंशको रूपमा प्रस्तुत गरिएको थियो ।

(सिएसआइएस)ले भारत सरकारले देशका केही चुनावी जिल्ला र निश्चित राजनीतिज्ञलाई लक्षित गरी ‘गुप्त गतिविधि’ गरेर २०१९ र २०२१ को चुनावमा हस्तक्षेप गर्ने प्रयास गरेको बताएको छ । सिएसआइएसले एउटा छुट्टै कागजातमा इस्लामाबादले पाकिस्तानी स्वार्थलाई अगाडि बढाउन २०१९ को चुनावअघि संघीयस्तरको राजनीतिलाई प्रभाव पार्न खोजेको आरोप लगाएको छ ।

क्यानडाले परम्परागत रूपमा भारत र पाकिस्तान दुवैलाई साझेदारको रूपमा हेरेको छ । तर, क्यानडा र भारतबीच बढ्दो तनाव र क्यानडाभित्रको व्यापक चिन्ताबीच आरोप लगाइएको थियो । यहाँ सिएसआइएसले लगाएका आरोप विवरण र त्यसको अर्थलाई व्याख्या गर्न खोजिएको छ । सिएसआइएस कागजातअनुसार भारत सरकारका ‘प्रोक्सी एजेन्ट’ले २०१९ र २०२१ को चुनावलाई ‘मुख्य मुद्दामा भारतको हितसँग क्यानडाको स्थितिलाई पंक्तिबद्ध गर्ने उद्देश्यका साथ प्रभाव पार्ने प्रयास गरे ।

सिएसआइएस प्रतिवेदनले भारत सरकार समर्थक उम्मेदवारहरूको जित सुरक्षित गर्न वा पदबहाली गर्ने उम्मेदवारलाई प्रभाव पार्ने प्रयासको रूपमा विभिन्न क्यानडाली राजनीतिज्ञलाई गोप्य रूपमा अवैध आर्थिक सहयोग दिएको आरोप लगाइएको छ । ‘केही उदाहरणमा उम्मेदवारलाई उनीहरूको प्रचार अभियानले अवैध रकम प्राप्त गरेको थाहा नहुन सक्छ,’ प्रतिवेदनले भन्यो ।

कागजातअनुसार भारतको प्रभाव अभियान ‘थोरै संख्यामा चुनावी जिल्लामा’ केन्द्रित थियो, जुन इन्डो–क्यानडाली समुदायको घर हो, जसलाई नयाँदिल्लीले खालिस्तानी पृथक्तावादी समर्थकको रूपमा हेर्छ । प्रतिवेदनमा आरोप लगाइएको छ कि भारत जानाजानी आफ्नो गतिविधिका लागि ‘क्यानडा र क्यानडास्थित प्रोक्सीहरू र तिनीहरूको नेटवर्कको सम्पर्कमा’ निर्भर हुन्छ किनकि यसले नयाँदिल्ली र क्यानडामा यसको प्रभाव प्रयासबीचको ‘कुनै पनि स्पष्ट सम्बन्धलाई अस्पष्ट बनाउँछ ।’ ‘प्रतिनिधिहरूले भारतीय गुप्तचर अधिकारीसँग सम्पर्क राख्छन् र काम गर्छन्,’ रिपोर्टले भन्यो ।

क्यानडाले परम्परागत रूपमा भारत र पाकिस्तान दुवैलाई साझेदारको रूपमा हेर्ने गरेको छ । तर, क्यानडा र भारतबीच बढ्दो तनाव र क्यानडाभित्र चुनावी हस्तक्षपको चिन्ताबीच आरोप लगाइएको छ ।

फेब्रुअरीमा जब समाचार विवरणले पहिलोपटक क्यानडाले भारतीय चुनावी हस्तक्षेपको छानबिन गरिरहेको सुझाव दिए, नयाँदिल्लीले आरोपहरूलाई तत्काल ‘निराधार’ भनेर जवाफ फर्कायो । ‘अन्य देशको लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने भारत सरकारको नीति होइन,’ भारतीय विदेश मन्त्रालयले भन्यो । ‘वास्तवमा यसविपरीत क्यानडाले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ । यो विषयलाई हामीले उनीहरूसमक्ष बारम्बार उठाउँदै आएका छौँ । हामी क्यानडालाई हाम्रा मूल सरोकारलाई सम्बोधन गर्न प्रभावकारी उपाय लिन निरन्तर आह्वान गर्छौं ।’

गत वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जुनमा भ्यानकुभरनजिकै गोली हानेर हत्या गरिएका शिख पृथक्तावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्ध बिग्रिएको थियो । ‘हालैका आरोपले सम्बन्धलाई अझ जटिल बनाउने सम्भावना छ । विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस महिना सुरु हुने राष्ट्रिय निर्वाचनका लागि तयारी गरिरहेका छन् । चुनावले उनलाई लगातार तेस्रोपटक सत्तामा पुर्‍याउन सक्छ,’ भिक्टोरिया विश्वविद्यालयकी राजनीतिशास्त्री तथा सेवानिवृत्त प्राध्यापक रिता ट्रेम्बलेले भनिन् ।

सिएसआइएसले क्यानडामा पाकिस्तानको विदेशी हस्तक्षेप ‘मुख्यतया पाकिस्तानमा राजनीतिक, सुरक्षा र आर्थिक स्थायित्व बढाउन र भारतको बढ्दो विश्वव्यापी प्रभावलाई रोक्नका लागि’ भनेको छ । मूल्यांकनका अनुसार इस्लामाबाद २०१९ र २०२१ को चुनावमा ‘सीमित विदेशी हस्तक्षेपकर्ता’ थियो । प्रतिवेदनमा भनिएको छ, ‘विदेशमा पाकिस्तानको हस्तक्षेप गतिविधि यसको अशान्त घरेलु राजनीतिक, आर्थिक र सुरक्षा अवस्थाका साथै छिमेकी भारतसँगको लामो समयदेखिको तनावबाट प्रभावित छन् ।’

सारांशमा भनिएको छ कि अघिल्लो हस्तक्षेप गतिविधिमा पाकिस्तानले ‘गुप्त रूपमा राजनीतिज्ञ र उम्मेदवारको चयनमा प्रभाव पार्ने र समर्थन बढाउने प्रयास समावेश छन्, जुन पाकिस्तान समर्थक वा भारतविरोधी मानिन्छन् ।’ सिएसआइएसले लगाएको आरोपमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । हालैको क्यानडाको चुनावलाई प्रभाव पार्ने बेइजिङको कथित भूमिका र हद पत्ता लगाउनु जारी अनुसन्धानको ठूलो भाग हो ।

आधिकारिक छानबिनअनुसार पछिल्लो दुई चुनावमा चीनले हस्तक्षेप गरेको क्यानडाको विदेशी खुफिया एजेन्सीले निष्कर्ष निकालेको छ । ट्रुडोको लिबरल पार्टीले २०१९ र २०२१ मा भएको चुनाव जित्यो । ‘हामीलाई थाहा छ कि पिआरसी (पिपल्स रिपब्लिक अफ चाइना) ले २०१९ र २०२१ दुवै चुनावमा लुकेर र छलपूर्ण हस्तक्षेप गरेको छ,’ सिएसआइएसले भन्यो ।

चीन क्यानडाको राजनीतिमा हस्तक्षेपको आरोपलाई अस्वीकार गर्छ । चीन–क्यानडा सम्बन्ध विगत धेरै वर्षदेखि तनावपूर्ण छ । सन् २०१८ मा क्यानडाली अधिकारीले हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई संयुक्त राज्य अमेरिकाको गिरफ्तारी वारेन्टमा पक्राउ गरेपछि सम्बन्ध तनावपूर्ण बनेको हो । क्यानडाको चुनावमा विदेशी हस्तक्षेपको प्रतिरोध गर्न पर्याप्त काम नगरेको आरोप सामना गरेका ट्रूडोले बुधबार अनुसन्धानको एक भागको रूपमा प्रमाण पेस गर्ने अपेक्षा गरिएको छ ।
– अलजजिराका लागि युसेड सिद्दिकीको रिपोर्ट
 

ad
ad