१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अशोक राईको नेतृत्वमा फुट्यो जसपा, गठबन्धनमा कस्तो असर पर्ला? 

सात सांसद र २९ केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा निवेदन पेस

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:५६:oo

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ।

सांसद अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित जसपा नेपालबाट अलग भएको सांसद प्रदीप यादवले जानकारी दिए। असन्तुष्ट समूहको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो। 

राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइएको छ। ‘आयोगमा सात सांसद र २९ जना केन्द्रीय सदस्यले सनाखत गर्नुभएको छ,’ यादवले भने, ‘निवेदन दर्ताको प्रक्रियामा छ। पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ।’ 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजनको निर्णय भएको हो। यादवले राजेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। कावा अध्यक्ष श्रेष्ठ पनि विभाजनको पक्षमा उभिँदै नयाँ दलतिर लागेका छन्।

हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान छन्। २९ जना केन्द्रीय समिति प्रस्ताव गरिएको छ। बाँकी सदस्य पछि थपिनेछ। 

नेतृत्व एकलौटी रूपमा चलेकाले जसपा नेपालबाट अलग परेको सांसद यादवले बताए। ‘आसन्न महाधिवेशनका लागि अध्यक्ष एकलौटी ढंगले चल्नुभयो। आफूखुसी सदस्यता बाँड्ने, सरसल्लाह नगर्ने, सांसदहरूको मानमर्दन गर्ने, अवसरको न्यायोचित वितरणभन्दा पनि गणेश परिक्रममा धेरै ध्यान दिने, काम गर्नेलाई पाखा गर्ने व्यवहार भएकाले अलग हुनुपर्‍यो,’ उनले भने। 

सांसद यादवले नयाँ दलले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने बताए। ‘सत्तागठबन्धनमा कुनै फेरबदल हुँदैन। यसलाई नै समर्थन गर्छाैं,’ उनले भने। नयाँ दलले मधेश, पहाड र हिमालका सबैलाई समेटेर देशको हितमा काम गर्ने यादवको भनाइ छ।

सांसद सुशीला श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र अभ्यास नभएकाले अलग्गिनुपरेको बताइन्। ‘मूल अध्यक्ष सरकारमै हुनुहुन्छ। गठबन्धनले हामीलाई कसरी हेर्छ, त्यसपछि हुन्छ। पहिला आफ्नो खुट्टामा उभिन्छौँ,’ उनले भनिन्।

ad
ad