रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका इम्दाद हुसेन खान र रुपन्देही– ३ प्रदेश सभा (क) मा माओवादीका तर्फबाट उम्मेदवारी दिएका फैज अहमद खानले उम्मेदवारी फिर्ता लिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्रदेश सभा उम्मेदवार फैज अहमद खानले जानकारी दिए।
उनीहरूले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारलाई पराजित गर्न आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘हामीले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवारलाई हराउन उम्मेदवारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने।
प्रतिनिधिसभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फिर्ता लिएको बताए।
निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ। फैज र इम्दाद नाताले बाबु–छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इन्चार्जसमेत हुन्।
फैजले आफू उम्मेदवार हुँदाभन्दा बढी सत्तारूढ गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेसमेत बताए । ‘म उम्मेदवार हुँदा प्रचारप्रसारमा जति खटिन्थेँ, त्यति गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेछु,’ फैजले भने।
रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवार छन्।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) मा कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन्।