अर्घाखाँचीमा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ।
सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो।
जिल्ला सुरक्षा समितिको आयोजनामा डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तर्क्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत–संगीत प्रस्तुत गरेको थियो।
ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेवेला नगरौँ भूल पनि, सबले घरमा लगाऔँ है झुल पनि’ बोलको गीत प्रस्तुत गरेको थियो।
सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेंगु सर्ने कारण, त्यसको लक्षण तथा रोकथामका उपायबारे जानकारी गराएका थिए।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेंगुको संक्रमणको जोखिम झन् बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताए।
संक्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकताअनुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले उल्लेख गरे। रासस