लागुऔषधको ‘ट्रान्जिट’ बन्दै बाँके

१९ दिनमा २२ पक्राउ, एक किलो १५२ मिलिग्राम ब्राउन सुगर बरामद

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण

बाँके/बाँके प्रहरीले १६ असोजमा नेपालगन्ज उपमहानगरपालिका– १०, विद्युत् रोडबाट नेपालगन्ज– १६ का ३१ वर्षीय फिरोज जसगढलाई ८१.२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लियो । उनका साथबाट मोटरसाइकल र तीन थान मोबाइल पनि प्रहरीले बरामद गर्यो ।

त्यसको अघिल्लो दिन १५ असोजमा नेपालगन्जस्थित एक रेस्टुरेन्टबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना भारतीय पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले ८०८ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । त्यसको दुई दिनअघि प्रहरीले उपमहानगरपालिका– १, धम्बोझीबाट खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक युवती र दुई युवक थिए । पक्राउ परेकाको साथबाट दुई लाख २५ हजार रुपैयाँ नगद र चार थान मोबाइल बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

गत १ भदौमा कोहलपुर नगरपालिका– ११, चौतारानजिक लागुऔषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको टोलीले ९९० ग्राम अफिमसहित पक्राउ गरेको थियो । कोहलपुर नगरपालिका– ६ बस्ने टाइपसिंह गिरीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गर्न परेको थियो । उनको कोठा खानतलासी गर्दा फ्रिजभित्रबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेस बरामद भएको डिएसपी प्रतितसिंह राठोरले बताए । 

पछिल्लो समय बाँके लागुऔषध ओसारपसार तथा कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको प्रहरीले बरामद गरेको लागुऔषध र पक्राउ पर्नेको संख्याले देखाउँछ । यहाँ दिनहुँजसो लागुऔषध ओसारपसार तथा कारोबारी पक्राउ पर्ने गरेको बाँके प्रहरीको रेकर्डले देखाएको छ । १९ असोजसम्म लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न २२ जना पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डिएसपी प्रतीतसिंह राठोरले बताए । 

उनले लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता भएको बताउँदै एकजना फरार भएको बताए । ‘असोजको १९ दिनमा एक किलो १५२ मिलिग्राम ब्राउन सुगर र १२० क्याप्सुल ट्रामाडोल बरामद भएको छ,’ उनले भने । 

एक महिनामा २५ मुद्दा दर्ता
गत भदौमा लागुऔषधसम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन् । डिएसपी राठोरका अनुसार ती मुद्दामा ६१ जना प्रतिवादी छन् । प्रहरीले १४९ ग्राम सात सय मिलिग्राम ब्राउन सुगर, १३ किलो ६४ ग्राम अफिम, ४३ हजार १९९ ट्याब्लेट ट्रामाडोल, २७ ट्याब्लेट नाइट्राजेपाम, १४८ ग्राम चरेस र एक हजार चार सय मिलिलिटर कोरेक्स बरामद गरेको उनले बताए ।

पक्राउ पर्नेमा अधिकांश युवा रहेको बाँके प्रहरीले जनाएको छ । विद्यालय र कलेज पढ्ने उमेर समूहका युवायुवतीसमेत सेवन तथा ओसारपसारमा संलग्न रहेको देखिएको बताउँदै उनले खुला सिमाना भएकाले समस्या दिन प्रतिदिन बढ्दै गएको बताए । ‘भारतमा सजिलै जाने र उतैबाट सेवन गरेर फर्किने र भारतमा बसेर नेपालमा कारोबार गरेको अनुसन्धानले देखाउँछ,’ उनले भने ।

See More On

सुझावित समाचार