विदेशी बोर्डमा पढेका विद्यार्थीले पनि समकक्षता पाउने

जिपिए १.६ भन्दा कम आए पनि विदेशी बोर्डबाट १२ कक्षा उत्तीर्णलाई पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिने

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण

नेपालमा विज्ञान समूहका विषय पढ्न तय गरेको भर्नाको आधारअनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर एसइईपछि विदेशी बोर्डबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिने भएको छ । पाठ्यक्रम विकास परिषद्को आइतबार बसेको बैठकले विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए लेभल तथा अन्यत्र पढेका विद्यार्थीहरूले समकक्षता दिने निर्णय गरेको हो । 

नेपालबाट एसइई दिएपछि विदेशी बोर्डबाट कक्षा ११ र १२ विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विश्वविद्यालयमा स्नातक पढ्दै गरेका विद्यार्थीले समकक्षता नपाएर सास्ती पाएका थिए । नेपालमा विज्ञान समूहका विषय पढ्नका लागि कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका, तर एसइईपछि विदेशी बोर्डका कार्यक्रम सिबिएसई, ए लेभल तथा अन्यत्र पढेका विद्यार्थीहरूले समकक्षता नपाएर सास्ती भोगेका हुन् । स्नातक तहमा भर्ना भए पनि कक्षा १२ सरहको मान्यता नपाउँदा समस्यामा परेका हुन् । 

पाठ्यक्रम विकास परिषद्का महानिर्देशक वैकुण्ठ अर्यालले समकक्षता नपाउँदा विद्यार्थीको भविष्यलाई नै असर परेकाले समकक्षता दिने निर्णय भएको बताए । ‘तल्लो तहमा थोरै नम्बर ल्याएका कारण माथिल्लो तहमा पढ्ने इच्छालाई रोक्नुपर्छ भन्ने सही होइनजस्तो लाग्यो । माथिल्लो तहमा प्रवेश परीक्षा लिएर भर्ना गर्ने हो, सक्षम छन् भने राम्रो गर्छन् । प्रवेश परीक्षा दिनैलाई रोक्नु ठीक होइन भनेर समकक्षता दिने निर्णय गरिएको हो,’ उनले भने ।

महानिर्देशक बैकुण्ठ अर्याल भन्छन् - पाठ्यक्रम विकास परिषद् तल्लो तहमा थोरै नम्बर ल्याएका कारण माथिल्लो तहमा पढ्ने इच्छालाई रोक्नुपर्छ भन्ने सही होइनजस्तो लाग्यो । माथिल्लो तहमा प्रवेश परीक्षा लिएर भर्ना गर्ने हो, सक्षम छन् भने राम्रो गर्छन् । प्रवेश परीक्षा दिनेलाई रोक्नु ठीक होइन भनेर समकक्षता दिने निर्णय गरिएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रमा विदेशी बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेर नेपाल आएकाहरूको समकक्षता लिन दिनहुँजसो आउने गरेका छन् । अहिले झन्डै दुई सयको हाराहारीमा केन्द्रसँग समकक्षता मागेर नपाएको संख्या छ । केन्द्रमै नआउनेको संख्या ठूलो छ । कर्मचारीका अनुसार एसइईपछि मापदण्डअनुसार नेपालमा कक्षा ११ मा भर्ना हुन नपाउने, तर विदेशमा पढेर समकक्षता लिन दिनहुँजसो आउँछन्, अब यो संख्या बढ्दै जाने देखिएकाले अहिलेसम्म रोकेको थियो । ०७२ देखि लेटर ग्रेडिङ प्रणाली सुरु भएपछि ०७४ सालसम्मका विद्यार्थीको समस्या केन्द्रमा आएको छ । 

विद्यार्थी विदेशमा पढ्न जाने वेलामा नेपालमा कक्षा ११ मा भर्नाका लागि अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम सी प्लस ल्याएको हुनुपर्ने आधार तय गरेको थियो । तर, विदेशी बोर्डले सी र डी प्लस ल्याएका विद्यार्थीलाई समेत भर्ना गरेको थियो । ती बोर्डबाट कक्षा १२ सरहको अध्ययन सकेर नेपालमै आएर इन्जिनियरिङलगायतका विषयमा अध्ययन गरेका विद्यार्थीले समकक्षता नपाएर सास्ती भोगेका छन् । अहिले नेपालमै भर्ना हुन त्यो व्यवस्थासमेत परिवर्तन भइसकेको छ । कतिपय विद्यार्थीले नेपालमै सञ्चालन भएका सिबिएसई बोर्डका कार्यक्रम चलाएका विद्यालयमा समेत पढेका थिए । 

विश्वविद्यालयमा भर्ना,भएका विद्यार्थीमा तनाव
त्रिवि, काठमाडौं विश्वविद्यालयलगायतमा विद्यार्थी अध्ययन गरिरहेका छन् । अहिले समकक्षता नपाएमा माथिल्लो तहमा समेत समकक्षता नपाउने भएकाले उनीहरूको शैक्षिक डिग्री लिए पनि समस्या हुने अवस्था सिर्जना भएको थियो । समकक्षता नपाउँदा कतिपय विद्यार्थी पाठ्यक्रम विकास केन्द्रमै आएर रुने गरेको महानिर्देशक अर्यालले बताए । उनले भने, ‘कतिपय कार्यालयमा आएर रन्थे, समकक्षता नपाउँदा उच्च शिक्षा र नो अब्जेक्सन लेटर पाउँदैनथे, भविष्य नै अन्योल थियो ।’ नेपाल वा विदेशमा पढे पनि त्यही मापदण्ड कार्यान्वयन हुने भएकाले एसइईमा अंग्रेजी, गणित र विज्ञानमा सी प्लस नआएको, तर बाहिर कक्षा ११ र १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी पढेकालाई समस्या थियो । कर्मचारीका अनुसार त्यसवेला थाहा पाएर वा नपाएर ग्रेडवृद्धि नगरी विदेश गए, अहिले समकक्षता दिँदा त्यही वेलाको निर्णय हुनुपर्ने भएकाले पनि समस्या भोगेका थिए । यसअघिका परिषद् बैठकमा यस विषयमा छलफल भए पनि निर्णय गर्न सकेको थिएन ।

 मातृभाषाका पाठ्यक्रम स्वीकृत : परिषद्ले कक्षा ११ र १२ मा पढाइ हुने मातृभाषाका पाठ्यक्रमसमेत स्वीकृत गरेको छ । त्यसैगरी, माध्यमिक तहमा प्राविधिक धारको क्रेडिट आवर साधारण विषयसरह बनाएको छ । पहिले ३२ क्रेडिट आवरको प्राविधिक विषय अब ४० क्रेडिट आवर हुने भएको छ । त्यसैगरी, कक्षा ११ र १२ मा पढाइ हुने कम्प्युटर विषयको ग्रुप चारबाट अहिले दुईमा ल्याउनेसमेत निर्णय भएको एक सदस्यले बताए । 

सुझावित समाचार