नेपालबाट सबैभन्दा बढी निर्यात हुने प्रमुख वस्तुमा रहेको भटमासको तेलको अन्तर्राष्ट्रिय व्यापार खस्किएको छ । चालू आर्थिक वर्ष ०७९/८० को साउनमा भटमासको तेलको निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा सात अर्ब ३९ करोड रुपैयाँ कम भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७९/८० को साउनमा एक अर्ब ५९ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । गत आव ०७८/७९ को साउन महिनामा यस्तो निर्यात आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै भएको थियो । महँगिँदै गइरहेको कच्चा खानेतेलको मूल्य पछिल्लो दुई महिनायता घट्दै गएका कारण कच्चा पदार्थ आयात कम गरेको तेल उद्योगीको भनाइ छ ।
केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगडका अनुसार अहिले उद्योगीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने भएपछि खानेतेलका लागि आवश्यक कच्चा तेलको आयात नै घटाइरहेका छन् । उनले भने, ‘६ महिनाअघि अर्डर गर्दाको सामानको भाउ अहिले घट्दै गइरहेको छ । आन्तरिक खपत पनि कम भएको अवस्थामा निर्यातबापत खासै नाफा नहुने भएपछि हामीले निर्यात गर्न सकेका छैनौँ ।’ दुई महिनाअघिसम्म किनेको खानेतेलको कच्चा पदार्थ अहिले भाउ घटबढ हुँदा व्यवसायीले नोक्सानी व्यहोर्नुपरिरहेको छ । सबैजसो कम्पनीले तीन महिनालाई पुग्ने कच्चा पदार्थ ल्याइसकेकाले मूल्य घट्दा ठूलो नोक्सानी व्यहोरेका हुन् । नेपालमा प्रशोधित रहेका २४ उद्योगमध्ये १५ वटा ठूला लगानीका छन् । तेलको मूल्यमा अकस्मात् आएको गिरावटले हरेक ठूला उद्योगले ७० लाख डलरको घाटा व्यहोर्नुपरेको उनको अनुमान छ ।
नेपालले अर्जेन्टिनाबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत पठाउने गरेको छ । भारतले खाने तेलको मूल्य अचाक्ली बढेको भन्दै आयातमा भन्सार महसुल शून्य बनाएको छ । जसले भारतमा तेलको भाउ अझै सस्तो पर्ने हुँदा नेपालका उद्योगीलाई नोक्सानी पुग्ने दुगडको भनाइ छ । उनले भने, ‘भारतले तेलको ड्युटी शून्यमा झारेको छ । नेपाललाई त ट्रान्जिट लागत पनि लाग्छ । त्यसलै अहिले स्टक भएको बाहेक उद्योगीले तेल उत्पादन गरिरहेका छैनन् ।’ अर्जेन्टिनाबाट आयात गर्ने तेलका लागि ६ महिनाअघि नै बुकिङ गर्नुपर्ने हुन्छ ।
आर्थिक वर्ष ०७९/८० को साउनमा एक अर्ब ५९ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । गत आव ०७८/७९ को साउन महिनामा यस्तो निर्यात आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै भएको थियो ।
पछिल्लो समय ठूलो निर्यात हुने वस्तुमा रहेको पाम आयलको पनि हालत उस्तै छ । रुस–युक्रेन युद्धका कारण सूर्यमुखी तेलको भाउ भने खासै घटेको छैन । रुस–युक्रेन युद्धपछि विश्वबजारमा खाद्यान्नको मूल्य घटबढ भइरहँदा भटमासको तेलको पनि मूल्य बढिरहेको विश्व बैंकको तथ्यांकले देखाउँछ । सन् २०२० को अन्तिम महिनासम्म औसत नौ सय ७३ अमेरिकी डलर प्रतिटन पुगेको भटमासको कच्चा तेलको मूल्य सन् २०२२ को जुलाईसम्म आइपुग्दा १५ सय ३३ अमेरिकी डलरसम्म पुगेको छ । यद्यपि, गत मे महिनाको तुलनामा यो कम हो । गत मे महिनामा यसको मूल्य एक हजार नौ सय ६२ डलर प्रतिटन पुगेको थियो । तर, जुलाईसम्म आइपुग्दा यसको मूल्य घटेर एक हजार पाँच सय ३३ डलरसम्ममा झरेको छ ।
तेलको व्यापार खस्किँदा आयात–निर्यात दुवै प्रभावित
आव ०७८/७९ को साउनमा कुल निर्यातमा भटमासको तेलको हिस्सा ४३ प्रतिशत थियो । अहिले त्यो हिस्सा खस्किएर ११ प्रतिशतमा झरेको छ । भटमासको तेलको निर्यात खस्किँदा यसले सिंगो निर्यात व्यापार नै प्रभावित बनाएको छ । कुल निर्यातमा झन्डै आधा हिस्सा साझेदारी गरिरहेको भटमासको तेलको निर्यात घटेपछि कुल व्यापार नै घटाएको छ । गत आर्थिक वर्षको साउनमा २० अर्ब ७६ करोडको तेल निर्यात गरेको नेपालले यो साउनमा १४ अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । कुल निर्यात २८.६८ प्रतिशतले घटेको छ ।
निर्यातमा स्वाभाविक असर पारिरहेको भटमासको तेलले आयात पनि घटाएको छ । नेपालमा पर्याप्त खेती नहुने भएकाले अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी प्रशोधन मात्रै यहाँ हुने गरेको छ । जसकारण भटमासको तेल व्यापार खस्किँदा यसले आयातलाई पनि प्रभाव पार्ने गरेको छ । आयातमा पनि भटमासको तेलको वर्चस्व अग्रस्थानमै रहने गरेको छ । गत आर्थिक वर्षको साउनमा आठ अर्ब ३२ करोड रुपैयाँको कच्चा तेल आएकोमा यसपालि ६ अर्बको मात्रै कच्चा तेल आएको छ । मूल्य बढ्दा यसको परिमाणमा समेत कमी आएको देखिन्छ । गत आवको साउनमा ५३ हजार किलोलिटरभन्दा बढी कच्चा तेल भित्रिएकोमा यसपालि साउनमा २६ हजार किलोलिटर मात्रै कच्चा तेल आयात भएको छ ।