विद्युत् बिक्री गर्न बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग एमओयू गर्ने तयारी

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा एमओयूको मस्यौदा पेस हुँदै

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् व्यापार गर्न समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढेको छ । बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय विशेष बैठकमा नेपालले एमओयूको मस्यौदा पेस गर्न लागेको हो । बैठकमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्न एमओयू गर्ने प्रस्ताव अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।

विद्युत् व्यापार गर्न बंगलादेश पावर डेभलपमेन्ट बोर्ड त्यहाँको आधिकारिक सरकारी निकाय हो । नेपालमा पनि विद्युत् व्यापार गर्ने एक मात्र निकाय प्राधिकरण नै हो । ‘बैठकमा हामीले एमओयूको मस्यौदा पेस गर्दै छौँ । त्यसमा द्विपक्षीय छलफल हुन्छ,’ उनले भने, ‘सफल भएमा नेपाल–बंगलादेश विद्युत् व्यापारमा ठूलो फड्को मारिन्छ ।’ बैठकमा सहमति जुटेपछि छिट्टै दुई पक्षबीच एमओयू गरिने मन्त्रालयको भनाइ छ । ऊर्जा विकासमा सहकार्य गर्ने गरी नेपाल र बंगलादेशका सम्बन्धित मन्त्रालयबीच विभिन्न समझदारी तथा छलफल हुँदै आएको छ । अहिले त्यसको कार्यान्वयन हुने गरी एमओयूको प्रस्ताव अघि बढाइएको मन्त्रालयको भनाइ छ । बंगलादेश र नेपालबीच हुने विद्युत् व्यापारको मोडल, प्रसारण लाइनको विकास तथा व्यापारिक सर्तहरूसमेत एमओयूको मस्यौदामा उल्लेख छ । 

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्दा भारतीय भूमिमा प्रसारण लाइन बनाउनुपर्छ । त्यसमा भारतीय पक्षले सहयोग गर्ने ग्यारेन्टीसमेत गरिसकेको छ । यसका लागि कानुन तथा नीतिगत पक्षहरू संशोधन गर्न पनि भारत तयार रहेको  देखिन्छ । नेपालले पनि बंगलादेशसँग विद्युत् व्यापार गर्ने मुद्दा भारतीय निकायहरूमा उठाएको छ । त्यो अवस्थामा अब बंगलादेश र नेपालबीच एमओयू गरेर विद्युत् व्यापारलाई टुंगोमा पुर्याउन सकिने बताइएको छ । 

त्यसमाथि पछिल्लो समय नेपालको विद्युत् उत्पादन बढ्दै गएको छ । हालसम्म नेपालको राष्ट्रिय प्रणालीमा दुई हजार दुई सय ६९ मेगावाट विद्युत् जोडिएको छ । चालू आवमा झन्डै थप आठ सय मेगावाट विद्युत् जोडिँदै छ । तर, नेपालको पिक डिमान्ड भने १७ सय मेगावाटको हारहारीमा छ । त्यो अवस्थामा नेपालमा निर्यात गर्ने विद्युत् पनि पर्याप्त हुनेछ । त्यसमाथि गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रणमण जाँदा भुटान, बंगलादेश, भारत र नेपालबीच ऊर्जा सहकार्य गर्ने अवधारणा अघि बढेको छ । त्यो अवस्थामा बंगलादेश र नेपालबीच विद्युत् व्यापार गर्न सहज हुने बताइएको छ । नेपाल र बंगलादेशबीच सन् २०१८ मा ऊर्जा विकासमा सहकार्य गर्ने सम्झौता भएको थियो । त्यसअन्तर्गत नै जेएससी गठन भएको हो । साथै, बुधबारदेखि हुने जेएससीको यो चौथो बैठक हो । यो बैठक गत १२ र १३ असारमा हुने भनिएको थियो । तर, विभिन्न कारणले त्यसवेला स्थगित भएको थियो ।  

सुनकोसी–३ माथि पनि छलफल
बैठकमा ६ सय ८३ मेगावाट क्षमताको सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजनामा लगानीको ढाँचा टुंगो लगाउने छलफल पनि हुनेछ । यसअघि नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले सुनकोसी–३ आयोजना बन्ने स्थान (रामेछाप र काभ्रेपलाञ्चोक)को भ्रमण गरिसकेका छन् । यही बैठकका लागि सोमबार काठमाडौं आइपुगेका प्रतिनिधिमण्डलले समेत मंगलबार उक्त ठाउँ भ्रमण गर्दै छ ।  

यसअघि सेप्टेम्बर २०२१ मा काठमाडौंमा भएको संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा संयुक्त रूपमा सुनकोसी–३ बनाउने निर्णय भएको थियो । त्यसपछि उक्त विषयलाई टुंगोमा पुर्याउन दुईपटकसम्म संयुक्त बैठक आह्वान गरिए तापनि पछि स्थगित गरिएको थियो । तर, यसपालि भने यस बैठकलाई सफल बनाउने नेपाल पक्षको तयारी छ । यस आयोजनाबारे विद्युत् विकास विभागले सर्वेक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो ।

विभागको अध्ययनअनुसार आयोजनामा एक खर्ब ६० अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । बैठकमा नेपालको जलविद्युत् विकासमा बंगलादेशले लगानी गर्ने विषयमा पनि छलफल हुनेछ । सुनकोसीबाहेक अन्य आयोजना विकासमा बंगलादेशले लगानी गर्ने विषयमा छलफल हुने प्रवक्ता भेटुवालको भनाइ छ । 

बैठकमा यसअघिका बैठकमा भएका सहमतिहरूको प्रगति विवरणमाथि छलफल गर्ने एजेन्डा रहेको छ । साथै, ऊर्जा विकासमा दुई देशको क्षमता विस्तार गर्ने एजेन्डा पनि अघि बढाइनेछ । विशेष गरि अनुभव तथा विज्ञता आदान–प्रदान गर्ने काम पनि बैठकमा हुने मन्त्रालयका प्रवक्ता भेटुवालले बताए । ‘क्षमता विकास, ज्ञान तथा अनुभव आदान–प्रदानलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ,’ उनले भने, ‘साथै, आगामी बैठकबारे पनि छलफल हुनेछ । समग्रमा ११ एजेन्डामा केन्द्रित भएर बैठक हुनेछ ।’ उनका अनुसार बुधबार सहसचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र बिहीबार सचिवस्तरीय जेएससीको बैठक हुनेछ ।

ऊर्जामन्त्री भुसालसँग बंगलादेशको प्रतिनिधिमण्डलको भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बंगलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । बुधबारदेखि काठमाडौंमा हुने नेपाल–बंगलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले सोमबार मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो । सो अवसरमा बंगलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताउँदै आफूहरूले नेपालको विद्युतीय ऊर्जा बंगलादेश लैजान चाहेको बताए । 

उनले नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको समेत जानकारी गराए । भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदान–प्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने बताइन् । नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बंगलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनको भनाइ थियो । 

मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचार–विमर्श हुने विश्वाससमेत व्यक्त गरिन् । ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण लाइनको निर्माण र व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन)माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले बिबिआइएनलाई सक्रिय तुल्याउन बंगलादेशले महŒवपूर्ण पहल लिन सक्ने बताइन् ।

सुझावित समाचार