जातीय सदभाव भड्काउन खोजेको भन्दै मेयर हर्क साम्पाङविरुद्ध उजुरी

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । केही दिन अघिदेखि मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट सामाजिक तथा जातीय सदभाव बिथोलिने गरी मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोस्ट गरेपछि उनले साइबर अपराधअन्तर्गत कारबाहीका लागि उजुरी दिएकी हुन् ।  

नेकपा एमाले र आफूविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार  धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् । यो आपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् । केही दिनअघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोस्ट गरेपछि भण्डारीले फेसबुकमार्फत नै मेयरलाई सचेत गराएकी थिइन् । तर, बिहीबार बिहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई सेयर गरेका थिए।  

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी दिइन् । ‘जातीय द्वन्द्व निम्त्याउने किसिमको विषयवस्तु राखेर फेक स्टाटस बनाएर स्क्रिनसट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोस्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भण्डारीले भनिन्, ‘यस्तो गलत काम मेयरबाट जनताले आशा गरेका थिएनन् । उहाँ मेरो चरित्र हत्या गर्न लागेको देखियो ।’ 

बराहपीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरूको आन्दोलनलाई राजनीतीकरण गरी डाइभर्ट गर्न खोजेको भण्डारीको आरोप छ । 

सुझावित समाचार