सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत प्रस्तावित

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ भारतले सुधाकर दलेलालाई नेपालका लागि राजदूत प्रस्ताव गरेको छ । भारतीय विदेश मन्त्रालयले दलेलाको नाम स्वीकृतिका लागि मंगलबार परराष्ट्र मन्त्रालयमा लिखित अनुरोध पठाएको कूटनीतिक स्रोतले जनाएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासलाई समेत दलेलाको नियुक्तिबारे विदेश मन्त्रालयले जानकारी गराएको छ । भारतले लामो समयदेखि नेपालमा अतिरिक्त सचिवस्तरका वरिष्ठ कूटनीतिक अधिकारी पठाउँदै आएकोमा यसपटक सचिव ओहोदाका अनुभवी कूटनीतिज्ञ पठाउन लागेको छ । दलेला विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने अनुभवी कूटनीतिज्ञ हुन् ।

निवर्तमान राजदूत नवीन श्रीवास्तवको पदावधि १ अक्टोबरदेखि समाप्त भएसँगै उनी सेवाबाट अवकाश पाएर दिल्ली फर्किसकेका छन् । उनकै ब्याजी रहेका दलेला श्रीवास्तवका उत्तराधिकारी भएका छन् । दलेला विगतमा भुटानका लागि भारतीय राजदूत तथा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने उत्तरी महाशाखा (नर्थ डिभिजन) प्रमुख थिए । त्यसअघि उनी दक्षिण एसियामा बंगलादेशको ढाकास्थित भारतीय दूतावासमा पनि काम गरेका छन् । दलेलाको नाम स्वीकृतिका लागि प्राप्त भएको परराष्ट्र मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन् । नेपालले एग्रिमो पठाइसकेपछि दलेला विधिवत् रूपमा राजदूत नियुक्त हुनेछन् । कूटनीतिज्ञ दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

See More On

सुझावित समाचार