न्यायपरिषद्ले एकैपटक दुई सयभन्दा बढी जिल्ला न्यायाधीशको सरुवा गरेको छ । झन्डै तीन वर्षदेखि सरुवा रोकिएको थियो । परिषद्को मंगलबार बसेको बैठकले काठमाडौं जिल्ला अदालतमा हाल ३१ न्यायाधीश कार्यरत रहेकोमा २४ को सरुवा गरिएको छ । यसैगरी २८ जिल्ला न्यायाधीश काठमाडौंमा ल्याइएका छन् ।
परिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन दिनेमध्ये ६३ जनाको सूची प्रकाशित गरेको छ । जिल्ला न्यायाधीशका लागि दुई सय दुईजनाले आवेदन दिएकोमा ६३ जनाको नामावली प्रकाशित भएको परिषद् प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । यसमध्ये २१ जना अन्तिममा चयन हुनेछन् ।
समावेशी सिद्धान्तसमेत आत्मसात् गर्दै तयार भएको सूचीमाथि जो–कोहीले पनि प्रमाण र आधारसहित सूची प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी दिन सक्ने न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ मा उल्लेख छ । ती उजुरीमाथि अध्ययन तथा जाँचबुझ गरी उक्त निर्देशिकाको दफा ८ बमोजिम सम्भाव्य सूची तयार हुनेछ, जसबाट न्यायाधीश सिफारिस हुनेछन् ।
हाल देशभरका जिल्ला अदालतमा झन्डै चार दर्जन न्यायाधीशको पद रिक्त रहे पनि पहिलो चरणमा २१ जनाका लागि २७ असारमा सूचना निकालिएको थियो । न्याय सेवाका कर्मचारीले मात्र विवरण बुझाउन सक्ने गरी सूचना निकालिएको थियो । संविधानअनुसार जिल्ला न्यायाधीशको नियुक्ति परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्छन् । निर्देशिकामा भने आवेदन दिनेको आवेदन उक्त आर्थिक वर्षभरि मात्र मान्य हुने उल्लेख छ ।
यसैबीच उच्च अदालतको न्यायाधीश पदका लागि न्यायाधीशको आह्वान गरिएको छ । परिषद्को बैठकले न्याय सेवाका कर्मचारी र कानुन व्यवसायीले समेत आवेदन दिन सक्ने गरी आवेदन माग गरेको छ ।