संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : शेखर कोइराला

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : शेखर कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले परिषद्सम्बन्धी अध्यादेश ल्याउँदा नै आफूहरूले विरोध गरेको उल्लेख गर्दै उनले सरकारले त्यसैलाई नै विधेयकको रूपमा ल्याएको बताए। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ओलीले ल्याउँदा पनि हामीले विरोध गरेका थियौँ। अहिले अध्यादेश विधेयकका रूपमा आएको छ, त्यो फिर्ता हुनुपर्छ,’ नेता कोइरालाले भने।

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यक्षसहित बहाल रहेका ५० प्रतिशत सदस्य उपस्थित भए परिषद् बैठकले नियुक्ति सिफारिस गर्न सक्ने अध्यादेश ल्याएका थिए। देउवा सरकारले यसलाई परिमार्जन गरी अध्यक्ष र बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या पुगेको मानिने गरी विधेयक अगाडि बढाएपछि पार्टीभित्रै उनको आलोचना भइरहेको छ।

पार्टीको केन्द्रीय समिति बैठक अघि संस्थापनइतर पक्षका नेता कोइरालले सो विधेयक फिर्ता हुनुपर्ने बताएका छन्। यसअघि महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्री देउवालाई सल्लाह दिनेहरूले गलत सल्लाह दिइरहेको भन्दै विधेयक अविलम्ब फिर्ता हुनुपर्ने धारणा राखेका थिए।

सुझावित समाचार