संवैधानिक परिषद्सम्बन्धी विधेयकमा महामन्त्री शर्माको आपत्ति, भन्छन्–देउवालाई यस्ता सल्लाह कसले दिन्छ ?

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सरकारले अघि बढाएकाे संवैधानिक परिषद्सम्बन्धी विधेयक गलत रहेको टिप्पणी गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यक्षसहित तत्काल बहालमध्ये ५० प्रतिशत सदस्य उपस्थित परिषद्को बैठकले नियुक्ति सिफारिस गर्न सक्ने अध्यादेश ल्याएका थिए। देउवा सरकारले थाेरै मात्र परिमार्जन गरी अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या पुगेको मानिने गरी विधेयक अगाडि बढाएपछि पार्टीभित्रै उनकाे आलाेचना भएकाे हाे।

महामन्त्री शर्माले गलत काम ओली वा देउवा जसले गरेपनि गलत नै हुने बताएका छन्। प्रधानमन्त्री देउवालाई सल्लाह दिनेहरुले गलत सल्लाह दिइरहेको भन्दै उनले ट्विटरमा लेखेका छन्, 'ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत। यसमा शतप्रतिशत प्रष्ट छौं हामी। संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद् छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।'

सुझावित समाचार