काठमाडौं/ नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन भएको छ। संशोधित व्यवस्थाअनुसार सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
कार्यविधिमा वारेसनामामार्फत दर्ता तथा नामसारी गर्न सकिने प्रावधान छ। सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछन् ।
यस्ता छन् संशोधित व्यवस्थाका मुख्य बुँदाहरू
डिलरबाट गरिएको जाँचलाई मान्यता - डिलरबाट गरिएको सवारीसाधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।
वारेसनामामार्फत दर्ता तथा नामसारी- सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ।
बिमा तथा नवीकरणमा सहजता - सवारीसाधनको बिमा वा बिमा नवीकरण गर्न सवारीधनी स्वयं उपस्थित हुनुपर्नेछैन।
बायोमेट्रिकका लागि प्राविधिक पहुँच- सवारीसाधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।