नाइरोबी फ्लाईबारे अध्ययन गर्दै सरकार

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

संघीय सरकारले ‘नाइरोबी फ्लाई’को संक्रमणबारे अध्ययन गर्ने भएको छ । पूर्वी नेपालका विभिन्न जिल्लामा शरीरका विभिन्न अंगमा डढुवा घाउजस्तो लक्षण देखिएका मानिसहरू उपचारका लागि अस्पताल जान थालेपछि सरकारले यस विषयमा अनुसन्धान थालेको छ । चिकित्सकहरूले ‘नाइरोबी फ्लाई’ नामक एक प्रकारको किराको झुुसले शरीरका अंगमा डढुवा लागेको बताए पनि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन । 

स्वास्थ्य सेवा विभागअन्तर्गत पर्ने रोग नियन्त्रण महाशाखाले विभिन्न सञ्चारमाध्यममा ‘नाइरोबी फ्लाई’का संक्रमित भनेर आए पनि यसबारे अझै पुष्टि भइनसकेको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. गोकर्ण दाहालले ‘नाइरोबी फ्लाई’ हो/हैन भन्ने कुनै आधार नभएको बताए ।

डा. गोकर्ण दाहाल, शाखा प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

विगतमा यसको रेकर्ड हुँदैन थियो, तर यस वर्ष यस्तो समस्या धेरैमा देखिएकाले अध्ययन थालिएको हो । अहिले सबैले ‘नाइरोबी फ्लाई’ नाम दिएकाले हामीले पनि त्यही सम्बोधन गरेका छौँ, तर यस विषयमा केही दिनपछि आधिकारिक जानकारी गराउनेछौँ ।

यस विषयमा सरकारले अध्ययन सुरु गरेको उनको भनाइ छ । शाखा प्रमुख दाहालका अनुसार अहिलेसम्म विभागको सिस्टममा ६ वटा केस रेकर्ड भएको देखिएको छ । ‘विगतमा यसको रेकर्ड हुँदैन थियो, तर यस वर्ष यस्तो समस्या धेरैमा देखिएकाले अध्ययन थालिएको हो,’ उनले भने । रोग पत्ता लगाउन महाशाखाले छालारोग विशेषज्ञ र किरासम्बन्धी जानकारहरूसँग छलफल थालेको छ । 

दाहालका अनुसार केस बढ्न सक्ने आशंकामा विभागले यसलाई रोक्न तयारीसमेत थालेको छ । पछिल्लो समय ‘नाइरोबी फ्लाई’सँग सम्पर्क भएपछि छालामा समस्या देखिएका बिरामी अस्पताल जान थालेका छन् । सिभिल अस्पतालमा समेत दुईजना बिरामी देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्षसम्म यसलाई सरकारले चासोका साथ हेरेको थिएन । अहिले केसहरू धेरै सार्वजनिक हुन थालेका छन् । किरामा भएको झुस छालामा टाँसिएमा रातो घाउ बन्ने गर्छ । र, यसबाट के असर हुन्छ भनेर अध्ययन भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

‘अहिले सबैले ‘नाइरोबी फ्लाई’ नाम दिएकाले हामीले पनि त्यही सम्बोधन गरेका छौँ, तर यस विषयमा केही दिनपछि आधिकारिक जानकारी गराउनेछौँ,’ दाहालले भने । रोग नियन्त्रण महाशाखाका अनुसार ‘नाइरोबी फ्लाई’को सम्पर्कमा भएका व्यक्तिमा १२ देखि २४ घन्टामा लक्षण देखिन्छ । बिस्तारै एक हप्तामा निको हुँदै जान्छ । कसैकसैलाई औषधि दिनुपर्छ । तर, बिरामी भएकामा पनि समस्या धेरै देखिएको छैन । समाजमा चेतना फैलाउने हिसाबले काम गरिरहेको दाहालले बताए । 
ठूलो मासलाई असर गर्ने अहिलेसम्म नदेखिए पनि केही बिरामीको शरीर हेर्दा आतंकित बनाउने खाले रहेको दाहालको भनाइ छ । यही ढंगले केस बढ्दै गएमा कसरी रोक्ने भनेर रोग नियन्त्रण महाशाखाले छालारोगसम्बन्धी चिकित्सक र किरारोग विज्ञसँग छलफल गरिरहेको उनले बताए ।

See More On

सुझावित समाचार