राजमार्ग भासिएर चिनियाँ नाका प्रभावित

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

सडक समस्याले चीनसँगको अन्तर्राष्ट्रिय नाका तातोपानी केही दिनयता प्रभावित भएको छ । अबिरल झरीले जमिन भासिने र ठाउँ–ठाउँमा पहिरो खसेर कोदारी सडक अवरुद्ध भएपछि असारको सुरुवातबाटै नाका प्रभावित भएको हो । सडक डिभिजन कार्यालय चरिकोटलाई गत वर्षदेखि नै स्थानीय सरकार, तातोपानी भन्सार र सीमाबासीले जीर्ण कोदारी सडक बनाउन पटक–पटक आग्रह गरेका थिए । सडक डिभिजनले बजेट पठाउन आनाकानी गर्ने र रकम पठाए पनि बर्खामासमा काम गर्ने परिपाटी बसालेकाले सडक मर्मत ‘बालुवामा पानी’ भएको छ । त्यस्तै, करोडौँ अनुदान देखाएर भूकम्प गएदेखि सडक मर्मत गर्दै आएको चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिसिआरसी)ले बनाएको सडक पनि हिउँदमा टिक्ने बर्सातमा बगाउने भएको छ ।

 बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्डको सबैभन्दा बढी कोदारी क्षेत्रमा बिग्रिएको छ । तलबाट भोटेकोसी नदीले तान्ने र माथिबाट जमिन भासिँदै जाने हुँदा कमजोर भूगोल भएकाले असारयता खासाबाट सुक्खा बन्दरगाह लार्चा आउने चिनियाँ टे«लर सीमामा रोकिएका छन् । भासिएको सडक बनाउन दैनिक एक्स्काभेटर चलाउँदा कोदारी गाउँ जोखिममा परेको छ । केही घर बगेर सडकछेउ आएको छ । सखुवा, बसेरी, झ्यालेभिरलगायत क्षेत्रमा पहिरो गइरहने भएकाले सडकयात्रा अति जोखिमपूर्ण छ ।

  राजस्व संकलन प्रभावित
भूकम्पअघि तातोपानी भन्सारले दैनिक पाँच करोड राजस्व संकलन गथ्र्यो । अहिले दैनिक ८० लाखसम्म उठ्छ । केही दिनयता सडकको मारमा परेर तातोपानी भन्सारले राजस्व संकलन गर्न सकेको छैन । खासाबाट अहिले ठूलो मात्रामा स्याउ आयात भइरहेको छ । वेलावेलामा सडक बन्द भएर ट्रेलर बीचैमा अड्किँदा स्याउ कुहिन थालेका छन् । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले दिएको जानकारीअनुसार खासा क्षेत्रमा आइपुगेको स्याउ कुहिन थालेको छ । केही दिनयता राजस्व संकलन प्रभावित भएको बताउँदै गौतमले भने, ‘कोदारी सडक जीर्ण भएकाले खासा आइपुगेका सामान आयात गर्न ढिलाइ भएको छ ।’ चीनबाट खासा हुँदै स्याउ, डोजर, मेसिनरी सामान, मेलम्ची खानेपानी आयोजनाका ठूला फलामे पाइप आयात भइरहेको उनले बताए ।

  चीनतिर पुनर्निर्माण, नेपालतर्फ सुनसान
भूकम्प र भोटेकोसी बाढीले ढालेको तातोपानीका भौतिक संरचना अझै उठ्न सकेको छैन । न सरकारी भवन बने, न त निजी अवास नै ठडिए । कमजोर भूगोल रहेको नेपालतर्फ कुनै पनि भौतिक संरचनाको पुनर्निर्माण र पूर्वाधार तयारी भएको छैन । खासासँग आमनेसामने रहेको लिपिङ ०७२ यता सुनसान छ । उता चिनियाँ क्षेत्रमा धमाधम पुनर्निर्माण भइरहेको छ । भोटेकोसीको बहाव  र कटानलाई रोकेर भूगोल संरक्षणमा चिनियाँ नागरिक दिनरात काम गरिरहेका छन् । चिनियाँ क्षेत्रमा सरकारी भवनदेखि निजी अवासको पुनर्निर्माण पनि सँगसँगै गरिँदै छ । भूकम्पपछि लिपिङ क्षेत्रमा कम्तीमा सय परिवार पूर्ण विस्थापित भएका छन् ।  
 

सुझावित समाचार