काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वमा घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउने परम्परा छ । सोही परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती विधिपूर्वक भित्र्याइएको हो ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि नै बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारबाट फूलपातीसहितको डोली हनुमानढोका पुर्याउने परम्परा रहँदै आएको छ ।
परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर सतिपिपलस्थित फूलपाती चौतारासम्म ल्याउँछन् । त्यसपछि त्यहाँबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका दरबार पठाउने गरिन्छ ।
फूलपातीका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूललगायतका वनस्पति तथा नयाँ पालुवा दसैँघर वा पूजाकोठामा भित्र्याउने धार्मिक परम्परा छ । घटस्थापनादेखि वैदिक विधिअनुसार दुर्गाको आह्वान गरी पूजा गरिने दसैँघरमा भित्र्याइने यी सामग्रीलाई शुभ र समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।
नवपत्रिकाका नामले समेत चिनिने फूलपातीलाई नौ देवीको प्रतीक मानेर शास्त्रीय विधिअनुसार शक्तिस्वरूपा दुर्गाको आराधना गर्दै पूजा गर्ने चलन छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु हुने दसैँ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व फूलपातीका दिन थप विशेष बन्ने गर्छ । यस दिनदेखि दसैँको सामाजिक चहलपहल पनि बढ्दै जाने परम्परा रहेको छ ।