शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस्

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वभरका नेपाली समुदायलाई बडादसैँको शुभकामना दिएका छन्। शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले चाडपर्व नै बोझ हुने गरी खर्च नगर्न आग्रह गरेका छन्।

देशलाई आर्थिक सम्पन्नता र सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नुहुँदैन भन्नेमा हामी सचेत छौँ।’ 

कांग्रेस महाधिवेशनमा गगनलाई सर्वाधिक मत, शीर्ष १० मा अरू को ?

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरे। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्गीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मात्र मत पाए।

महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू छन्।

तातोपानी नाका तीन दिनका लागि खुल्ने

दसैँको समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म तीन दिन तातोपानी नाका सञ्चालन हुनेछ। उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ।

नवनिर्वाचित कांग्रेस सभापति थापाले लिए शपथ

 नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथग्रहण गरेका छन्। १५औँ महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मतसहित सभापति निर्वाचित थापाले शनिबार सानेपामा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी हुँदा अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरे।

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

 बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वमा घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउने परम्परा छ । सोही परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती विधिपूर्वक भित्र्याइएको हो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि नै बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारबाट फूलपातीसहितको डोली हनुमानढोका पुर्याउने परम्परा रहँदै आएको छ ।

विश्वकप लिग– २ : दोस्रो खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको दोस्रो खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटिएपछि क्यानडाले जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। क्यानडाका ब्याटरहरूले सुरुवाती र मध्यक्रममा संयमित प्रदर्शन गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा

गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्।

गृहमन्त्री गुरुङले चुमनुब्रीसहित बुढीगण्डकी क्षेत्रका प्रभावित बस्तीहरूको अवलोकन गरेका उनको सचिवालयले जनाएको छ। बाढीको क्षति तथा स्थानीय नागरिकका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन उनी गोरखा पुगेका हुन्।

धुलिखेल सडकखण्डमा निर्माणाधीन साना पुल र सडक निर्माण ढिलाइले सवारी आवागमन प्रभावित

(फोटोफिचर)

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–बनेपा–धुलिखेल सडकखण्डमा विभिन्न स्थानमा निर्माणाधीन साना पुल र सडक निर्माणको कार्य ढिलाइ हुँदा सवारीसाधनको आवागमन प्रभावित भएको छ। सडक विस्तारको कामले गति लिन नसक्दा यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ।

व्यक्ति पार्टीभन्दा ठुलो होइन, चुकेँ भने सभापतिबाट हटाउनुहोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा कुनै पनि व्यक्ति ठुलो नहुने उल्लेख गर्दै आफूबाट गल्ती भए सभापतिको जिम्मेवारीबाट हटाउन पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । उनले व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनमा आफू जिम्मेवार र सचेत भएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

भूकम्पले जीर्ण जाजरकोट दरबारमा भित्र्याइयो फूलपाती

 भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा बडादसैँको फूलपाती भित्र्याइएको छ। शनिबार भेरी नगरपालिका– ११, जगतिपुरबाट खड्गदेवतासहित फूलपाती भित्र्याइएको हो। ऐतिहासिक दरबारमा क्षति पुगे पनि जाजरकोटको इतिहास, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परालाई निरन्तरता दिइएको छ।

परम्परागत विधिअनुसार जगतिपुरबाट ल्याइएको खड्गदेवता र फूलपाती जाजरकोट दरबारमा भित्र्याइएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। बरालको संयोजकत्वमा असोज २८ गते बसेको बैठकले जगतिपुरबाट खर्कदेवता र फूलपातीलाई व्यवस्थित रूपमा दरबारमा भित्र्याउने निर्णय गरेको थियो।

सुझावित समाचार