दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे चार लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका सर्वसाधारण दसैँ मनाउन गाउँ फर्किन थालेपछि प्रमुख बसपार्क र उपत्यका बाहिरिने नाकामा यात्रुको भिड बढेको हो।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले उपत्यका छाडिसकेका छन्।

नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। यी क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न ट्राफिक प्रहरीले आवश्यक व्यवस्थापन गरिरहेको सुवेदीले जानकारी दिए।

यात्रुहरू फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, जगाती र भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिरहेका छन्।

प्राप्त तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रुले उपत्यका छाडेका छन्। तथ्यांकले दसैँ नजिकिँदै जाँदा घर फर्किने यात्रुको चाप बढेको देखाउँछ।

यसैबिच, यातायात व्यवसायीले पनि दसैँमा यात्रुको चापलाई ध्यानमा राख्दै सवारीसाधन व्यवस्थापन गरिरहेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण केही समस्या देखिए पनि सम्बन्धित निकायसँग समन्वय गरेर यात्रुलाई सेवा प्रदान गरिरहेको बताए।

महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न तथा आफू चढ्ने सवारीसाधनको अवस्था र सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढ्दै जाँदा सडक तथा यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

सुझावित समाचार