तातोपानी नाका आजदेखि तीन दिन खुला
चीनसँगको तातोपानी नाका आज आइतबारदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। दसैँको समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल सरकारले चीन सरकारसँगको समन्वयमा नाका तीन दिनका लागि खुलाएको हो।
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई शनिबार पक्राउ गरेको थियो।
यसअघि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उनीसँग देखिएको शंकास्पद कारोबारका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसपी दानबहादुर थापाले बताए।
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
ठुलो दुर्घटना सिन्धुलीमा भयो । सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानस्थित सडकमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को. १ ज २९७६ नम्बरको सुमो गाडी अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा सुमोमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भयो। मृत्यु हुनेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ५, बस्ने २१ वर्षीया युपना राईसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक र सुमोमा सवार एकजनाको जिल्ला अस्पताल सिन्धुली र सुमोमा सवार अन्य दुईजनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवा नगरपालिका– ४, बसचोकस्थित सडकमा लु.२ ख ६९१२ नम्बरको ट्रकले को. २५ प २७४९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९, बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दसैँ मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातका साधनमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको हो। यद्यपि, पछिल्ला दिनको तुलनामा आज बाहिरिने यात्रुको संख्यामा केही कमी आएको उनले जानकारी दिए।
तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उनले उक्त पुरस्कार जितेकी हुन्।
तामाङले नुवाकोटस्थित एक फेन्सी हाउसबाट तीन हजार रुपैयाँबराबरको सामान खरिद गरेकी थिइन्। सोही खरिदको बिल नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो।
फेरिँदै मोरङ कारागार, गिरोह बनाएर काटमार गर्ने कैदीबन्दी विपश्यना ध्यानमा मग्न
नयाँ मानिस भित्र आउँदा–जाँदा जम्लाहात जोडेर उभिएर आदरपूर्वक नमस्कार गर्छन्। बिहान सबैरै उठ्छन् र नित्यकर्मपछि सबैजना सामूहिक ध्यानमा मग्न हुन्छन्। बेलुका पनि रोलकलपछि सामूहिक रूपमा आनापान ध्यानमा सहभागी बन्छन्। त्यसबाहेक दिउँसो र रानि पनि समूह–समूहमा मिलेर ध्यानमा बस्ने गर्छन्।
यो दैनिकीको दृश्य हो विराटनगर– ८, हाटखोलास्थित जिल्ला कारागार मोरङका कैदीबन्दी र बाल सुधारगृहमा रहेका बिज्याइँकर्ताहरूको। पहिले संगठित गिरोह बनाएर जेलभित्रै काटमार र अपराधमा संलग्न मोरङ कारागार र बालसुधार केन्द्रका कैदीबन्दी र बिज्याइँकर्ताहरूको पर्खालभित्रको दिनचर्या आजभाेलि अपत्यारिलो गरी बदलिँदै गएको छ।
सुनकोशीमा यात्रुवाहक जिप खस्दा तीनजनाको मृत्यु, चार घाइते, तीन बेपत्ता
सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल नदीमा खस्दा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब साढे २ बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को.१ज २९७६ नम्बरको जिप सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
महाअष्टमीमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि देवीको पूजाआराधना र दर्शनका लागि भक्तजन मन्दिरमा पुगेका छन्।
काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, टोखाको चण्डेश्वरीलगायत शक्तिपीठमा भक्तजनको भिड लागेको छ। महाअष्टमीका अवसरमा विभिन्न देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ।
कांग्रेसको चियापान कार्यक्रम यो वर्ष नहुने
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ। बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेकाले चियापान नगर्ने कांग्रेसले जनाएको छ।
‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बुढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ,’ कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ।
कालीगण्डकी करिडोर प्रसारणलाइन २१ दिनपछि सञ्चालनमा
गत ११ असोजको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणले आपतकालीन पुनर्स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। शनिबार राति सवा १० बजे प्रसारणलाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।