व्यापार घाटाको निकास, जलविद्युतकाे विकास

व्यापार घाटा सन्तुलनमा ल्याउन विद्यमान प्राकृतिक स्रोतसाधनको उपयोगसँगै विद्युत् उत्पादन बढाएर विदेश निकासी गर्नु नै उत्तम उपाय हो

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल जलविद्युत् उत्पादन क्षमताको आधारमा विश्वमा ब्राजिलपछि दोस्रो स्थानमा छ । त्यही विद्युत् उत्पादनलाई तीव्रता दिएर हाम्रो व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ । आव ०७७/७८ मा हाम्रो व्यापार घाटा १३ खर्ब ९८ अर्ब थियो । आगामी १० वर्षमा यो बढेर ३५ खर्ब हाराहारीमा पुग्ने अनुमान छ । विद्यमान प्राकृतिक स्रोतसाधनको उपयोग गरेर व्यापार घाटा सन्तुलनमा ल्याउन विद्युत् उत्पादन गरी विदेश निकासी गर्नु नै उत्तम र भरपर्दो उपाय हुन सक्छ । तर, त्यसका लागि पर्याप्त लगानी र तोकिएकै समयमा योजना सम्पन्न हुन जरुरी हुन्छ । अन्यथा, लक्षित समयभित्र उत्पादन नभई आयोजना लम्बिन गएमा मूल्यवृद्धिका कारण लागत बढ्न गई बिजुलीको मूल्यसमेत वृद्धि भई अहिलेको प्रतिस्पर्धी अन्तर्राष्ट्रिय बजारबाट अपेक्षित लाभ लिन कठिन हुनेछ । 

नेपालको गार्हस्थ उत्पादनमा जलविद्युत्ले दिगो रूपमा ठूलो योगदान पुर्याउन सक्छ । निर्माण तथा सर्वेक्षण अनुमति पाइसकेका सबै आयोजना समयमै सम्पन्न भएमा आगामी १५ वर्षमा हाम्रो उत्पादन क्षमता २० हजार मेगावाट पुग्ने देखिन्छ । देशभित्र खपत हुने अधिकतम ६ हजार मेगावाट मात्र हो । आन्तरिक खपतभन्दा बढी विद्युत् निकासीका लागि समयमै भारत, बंगलादेशलगायत छिमेकी देशसँग ऊर्जा व्यापार सम्झौताको पहल गर्नु दूरदर्शिता ठहर्छ । त्यस्तै, आन्तरिक खपत वृद्धि गर्न विद्युतीय उपकरणको प्रयोगमा प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी छ । 

नेपालको पहिलो र एसियाको दोस्रो फर्पिङ जलविद्युत् आयोजना चन्द्रशमशेरको पालामा सन् १९०७ मा सुरु भई सन् १९११ मा सम्पन्न भएको थियो । पाँच सय किलोवाटको यस आयोजनाको लागत सात लाख १३ हजार रुपैयाँ थियो । विद्युत् ऐन २०४९ लागू भएपछि जलविद्युत् उत्पादनमा निजी लगानीको ढोका खुल्यो । सरकारले पहिलोपटक ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी अयोजना निजी क्षेत्रलाई निर्माण गर्न अनुमति दियो । यी नर्वे र अमेरिकाद्वारा निर्मित पहिलो विदेशी लगानीका आयोजना हुन् । विद्युत् विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालमा १११ वटा जलविद्युत् आयोजनाबाट करिब एक हजार ३६८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै, सात हजार ५०० मेगावाटबराबरका सानाठूला २३९ आयोजनाले निर्माण लाइसेन्स प्राप्त गरेका र १५ हजार ७२० मेगावाटबराबरका २२६ आयोजना सर्वेक्षणका चरणमा छन् । बजारको माग बढेमा आयोजना थप्नेतर्फ निजी क्षेत्रको आकर्षण बढ्ने निश्चित छ । यसबाट बेरोजगारी र विपन्नतालाई सम्पन्नतातिर डोर्याउन अहं भूमिका खेल्ने निश्चित देखिन्छ । विश्वमा ऊर्जा व्यापारबाट सम्पन्न भएका देश प्रशस्तै छन् । जसमध्ये कतार, साउदी अरेबिया, दुबई, क्यानडा, रुस आदि प्रमुख छन् । 

विद्युत् उत्पादनका परियाजेना स्वीकृति, कार्यान्वयन र सम्पन्न गर्ने प्रक्रिया अस्वाभाविक लामो तथा झन्झटिलो भएका कारण लागत बढ्ने, कतिपय अवस्थामा लगानीकर्ता पलायन हुने, गुणस्तरीय काम नहुने आदि कारणले नेपालमा जलविद्युत् आयोजना अलपत्र परेका कैयौँ उदाहरण पाइन्छन् । विद्युत् उत्पादनलाई सहज र उपलब्धिमूलक बनाउन परियोजना पहिचान र कार्यान्वयनमा देखिएका र भोगिएका अनेक झन्झटलाई सुधार्न वेलैमा ध्यान दिनु जरुरी छ । वर्तमान विद्युत् नीतिमा समयानुकूल परिमार्जन गरी लगानीका परिवेश र प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन जरुरी छ । परियोजना समयमै सम्पन्न नहुनु, भविष्यमा सम्पन्न हुने परियोजनाबाट उत्पादित विद्युत् खपतको दूरदर्शी योजना नहुनु, आन्तरिक खपत वृद्धि गर्नेतर्फ सरकार ठोस योजनाभन्दा पनि भाषणमा मात्र सीमित रहनु विद्युत् विकासको चुनौती हो । 

विद्युत् परियोजनामा लगानी जुटाउने विश्वासिलो वातावरण, निर्माणमा तीव्रता र उत्पादित बिजुलीको व्यापारमा सहजताले मात्रै जलविद्युत्बाट लाभ लिन सकिने वास्तविकता हो । सरकारी निर्णयको झन्झटिलो प्रक्रिया, वित्तीय व्यवस्थापन, जग्गा अधिग्रहण, पर्याप्त बजेटको विनियोजन, सम्बन्धित निकाय र स्थानीयहरूको मौसमी अवरोध तथा स्वार्थी राजनीतीकरणले कतिपय आयोजना अल्झिएर बसेका कैयौँ उदाहरण छन् । 

घर तथा उद्योगमा विद्युतीय उपकरणको उच्चतम प्रयोगबाट एलपी ग्यास, कोइला र खनिज तेल खरिदमा बिदेसिने ठूलो रकम बचत गरी मौजुदा व्यापार घाटालाई न्यूनीकरण गर्न सकिन्छ

नेपालमा बिजुलीको प्रतियुनिट मूल्य औसतमा नौ रुपैयाँ ७५ पैसाजति छ । विद्युत् प्राधिकरणको औसत विद्युत् खरिद दर ६.६० रुपैयाँ छ । आयोजनाको प्रतियुनिट उत्पादन लागत करिब ४.५ रुपैयाँ छ । यदि परियोजना सम्पन्न हुन ढिलो भएमा स्वभावैले निर्माण लागत बढ्नेछ । पछिल्लो उदाहरणका रूपमा ३५ अर्बमा ७२ सालमा सम्पन्न हुनुपर्ने तामाकोसी ०७८ सालसम्म लम्बिँदा ८३ अर्ब भयो । यस्ता धेरै आयोजनामा ढिला भएर निर्माण लागत बढ्दा प्रतियुनिट उत्पादन लागत स्वभावैले बढ्छ ।

हाम्रो आन्तरिक खपत पछिल्लो तथ्यांकअनुसार करिब १५ सय मेगावाटको हाराहारीमा मात्र छ । प्राधिकरणका अनुसार सन् १९८५/८६ सम्म लगभग ६.२४ घरधुरीमा बिजुलीको पहुँच रहेकामा सन् २०२०/२१ को अन्त्यसम्ममा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको देखिन्छ । त्यस्तै, नेपालमा सन् १९८५/८६ मा प्रतिव्यक्ति विद्युत् खपत १८.९ युनिट थियो भने अहिले २७० युनिटको हाराहारीमा पुगेको छ । जबकि भारत र चीनमा क्रमशः एक हजार २०० र ५ हजार २०० युनिट छ । उत्पादित बिजुली देशभित्रै अधिकतम खर्च गर्न व्यावहारिक र आकर्षक नीति अवलम्बन गर्न ढिलो भइसकेको छ । आन्तरिक खपत वृद्धि गर्न इन्डक्सन चुलो, लुगा धुने मेसिन, हिटर, रेफ्रिजेटर विद्युतीय सवारीसाधन आदिको प्रयोगमा प्रोत्साहनको खाँचो देखिन्छ । त्यस्तै, आयातीत कोइलाको अधिकतम प्रयोग हुने इँटाभट्टा, फलाम तथा स्टिल कारखानालगायत उद्योगमा विद्युत् प्रयोगलाई प्राथमिकता र प्रोत्साहन दिनुपर्छ । 

विद्युतीय उपकरणको उच्चतम् प्रयोगबाट खाना पकाउन प्रयोग हुने एलपी ग्यास, कोइला र खनिज तेल खरिदमा बिदेसिने ठूलो रकम बचत गरी मौजुदा व्यापारघाटा न्यूनीकरण गर्न सकिन्छ । अतः जलविद्युत्को विकास र विस्तार नै देशको आर्थिक उन्नतिको दिगो आधार हो भन्नेतर्फ सरकारले हेक्का राख्नुपर्ने देखिन्छ । खेर गइराखेको अथाह जलसम्पदालाई जलविद्युत्, सिँचाइ, स्तरीय मिनिरल वाटर उद्योगलगायत अनेक सम्भावनाको खोजी गरी सम्पन्नतातिर लम्किन सरकार र सरोकारवाला पक्ष दुवैको ध्यान जानु जरुरी छ । 

सुझावित समाचार