सर्वोच्च अदालतले सप्तरीको राजविराज उपमहानगरपालिकाको उपमेयरमा ममताकुमारी चौधरीको उम्मेदवारी कायम राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि निर्वाचन अधिकृतको कार्यालय सप्तरीले कम्प्युटरमा इन्ट्री नभएको कारण देखाउँदै उनको मनोनयन दर्ता नभएको जानकारी गराएको थियो। यसविरुद्ध चौधरीले कम्प्युटरमा इन्ट्री नहुनुको उचित कारणबिनै आफ्नो उम्मेदवारी दर्ता नगरेको भन्दै १४ वैशाखमा सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
‘मनोनयनपत्र कम्प्युटरमा प्रविष्ट नभएको वा निवेदकको उक्त मनोनयन निस्तेज गरी उम्मेदवारको सूचीबाट हटाउँदा निवेदकलाई असर पर्न जाने देखिँदा अन्तरिम आदेशको छलफलबाट टुंगाे नलागेसम्म निवेदकको राजविराज नगरपालिकाको उपप्रमुख पदमा दर्ता नम्बरको ३९३ को मनोनयनपत्र बदर तथा रद्द नगर्नु तथा उपप्रमुख पदको उम्मेदवारको सूचीबाट नहटाउनु,’आदेशमा भनिएको छ।

