फर्किने प्रयासमा नेप्से : १३ वटै समूहको सूचकमा हरियाली

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

बुधबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो मंगलबार दुई हजार चार सयको मनोवैज्ञानिक तहबाट समेत ओर्लिएको बजार पुनः फर्किएर दुई हजार चार सय बिन्दुमा पुगेको छ । यस दिन ३० दशमलव २४ अंकले घटेर दुई हजार चार सय १५ दशमलव २४ बिन्दुमा पुगेको छ ।

बजार निकै घटेकाले पनि लगानीकर्ताहरू सम्हालिने प्रयासमा देखिएका छन् । बजार बढ्दा खरिदकर्ताहरू हाबी भएका छन् । बैंंकका वित्तीय विवरण सार्वजनिक हुने वेला भएको छ । वर्षको अन्तिम दिन भएकाले लगानीकर्ता आगामी दिन बजार बढ्नेमा उत्साहित छन् । तहगत रूपमा ओर्लिएको बजार फर्किने प्रयासमा देखिँदा आगामी दिनमा सकारात्मक हुने अपेक्षा लगानीकर्ताले राखेका छन् ।

बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको करिब ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक र नबिल बैंकको सेयर मूल्य तीन करोड रुपैयाँदेखि आठ करोड रुपैयाँसम्मको सबैभन्दा धेरै कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । ‘अन्य’ समूहको सूचक र माइक्रोफाइनान्स समूहको सूचक दुई प्रतिशतभन्दा बढीले बढेका छन् । विकास बैंक समूह, होटेल तथा पर्यटन समूह, उत्पादनमूलक समूह, निर्जीवन बिमा समूहको सूचक एक प्रतिशतमाथिले बढेका छन् । फाइनान्स समूह, जलविद्युत् समूह, लगानीगत समूह जीवन बिमा समूहको सूचक सामान्य बढेका छन् ।

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको सेयर मूल्य २ दशमलव शून्य ८ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १ दशमलव ९० प्रतिशतले घटेको छ ।नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव १९ प्रतिशत सबैभन्दा धेरैले बढेका छन् । त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ९७ अंकले घटेर चार सय ५६ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ ।

 लाइभ फ्लोरसिट बन्द गराउन नेप्सेलाई निर्देशन
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई लाइभ फ्लोरसिट बन्द गराउने निर्देशन दिएको छ । कारोबार समयमा नै फ्लोरसिटमार्फत कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सुझाव तथा गुनासो आएको भन्दै बोर्डले फ्लोरसिट हटाउन निर्देशन दिएको हो ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४)को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । यस्तै, बोर्डले ब्रोकरको ‘डिस्प्ले एग्जिबिसन’ कक्ष खोल्न पनि निर्देशन दिएको छ ।  हाल कोरोना भाइरसको संक्रमणदर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रूपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको जनाउँदै बोर्डले एग्जिबिसन कक्ष खोल्न निर्देशन दिएको हो । त्यसअनुसार सबै ब्रोकरले कोभिड– १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरूको पालना गरेर एग्जिबिसन कक्ष खोल्न सक्नेछन् । 

See More On

सुझावित समाचार