काठमाडौं/ नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले अर्को साता स्टार्टअप ह्याकाथन आयोजना गरिने भएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको हो । काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुने ह्याकाथनमार्फत स्टार्टअपहरूको पहिचान गरी तिनलाई लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष पुग्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आवेदन दिनुपर्ने हुन्छ । सहभागी टोलीले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गर्दै समाधानको सम्भाव्यता, व्यावसायिक मोडेल, बजारको आवश्यकता तथा विस्तारको योजनासहित निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्नेछन् । यस कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ । छनोट भएका टोलीले आगामी चरणमा व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।