सहुलियत पसलमादैनिक करोडसम्म बिक्री

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत पसलमा उपभोक्ताको भिड बढ्दै गएको छ । साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट मात्रै दैनिक एक करोड रुपैयाँसम्मको खाद्यान्न बिक्री भइरहेको छ । त्यस्तै, खाद्य कम्पनीको बिक्री केन्द्रमा चिनी, चामल, दाल र तेल खरिद गर्ने उपभोक्ता धेरै हुने गरेको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।

कर्पोरेसनका प्रबन्धक ब्रजेश झाका अनुसार ३० असोजमा एक करोडको कारोबार भएको थियो । ‘दसैँ–तिहार र छठका लागि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरेका छौँ,’ उनले भने, ‘छुट मूल्यमा खाद्यान्न खरिद गर्न उपभोक्ताको पनि भिड बढ्ने गरेको छ ।’

उनका अनुसार १८ वटा मुख्य बिक्री केन्द्रबाट असोज महिनामा मात्रै १४ करोड ५० लाख रुपैयाँको खाद्यान्न बिक्री भएको छ । कालीमाटी, सतुंगल, पाटन, बालाजु, महाराजगन्ज, कोटेश्वर, भक्तपुर, कौशलटार, सिफल, कपन, इमाडोल, जोरपाटी, काँडाघारी, बनेपा, धुलिखेल, नुवाकोट, नारायणगढ र धनगढीमा कर्पोरेसनको मुख्य बिक्री केन्द्र रहेका छन् । यसमध्ये कालीमाटीस्थित केन्द्रीय कार्यालयमा रहेको बिक्री केन्द्रबाट सबैभन्दा धेरै खाद्यान्न बिक्री हुने गरेको छ ।

झाका अनुसार कालीमाटी बिक्री केन्द्रबाट सार्वजनिक बिदाको दिनमा दैनिक ६–७ लाख र अन्य दिनमा २० लाख रुपैयाँसम्मको कारोबार भएको छ । कर्पोरेसनका बिक्री केन्द्रहरूबाट सबैभन्दा बढी चिनी, चिउरा, दाललगायतका खाद्यान्न बिक्री हुने गरेको झाले जानकारी दिए । उपभोक्तालाई सबैभन्दा सस्तो दरमा चिनी बिक्री भइरहेको छ । प्रतिकिलो एक सय रुपैयाँका दरले एकजना उपभोक्तालाई अधिकतम ६ किलोसम्म चिनी वितरण हुने गरेको छ । कर्पोरेसनले आफ्ना डिलरलाई भने प्रतिकिलो एक सय नौ रुपैयाँ र भाटभटेनीलाई प्रतिकिलो एक सय पाँच रुपैयाँका दरले चिनी बिक्री गरिरहेको छ । भाटभटेनीले उपभोक्तालाई प्रतिकिलो एक सय १० रुपैयाँका दरले चिनी बिक्री गर्ने गरेको छ ।

खाद्य कम्पनीले देशभरका ४३ भन्दा बढी बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालन गरिरहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । उनका अनुसार सहुलियतमा खाद्यान्न बिक्री गर्न विनियोजन भएको साढे तीन करोड बजेटमध्ये एक करोड २२ लाखबराबरको खाद्यान्न बिक्री भइसकेको छ । खाद्य कम्पनीले २८ साउनदेखि सुरु गरेको सहुलियत पसल वर्षैभर सञ्चालन गर्ने नीति लिएको छ । खाद्यका बिक्री केन्द्रमा चिनी प्रतिकिलो ९९ रुपैयाँका दरले उपलब्ध छ ।

सुझावित समाचार