१३ वटै समूहका सूचक घट्दा नेप्सेमा ४४ अंकको गिरावट

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

सोमबार सेयर बजार परिसूचक नेप्से ४४ दशमलव ५६ अंक (१ दशमलव ८१ प्रतिशत)ले घटेर दुई हजार चार सय १९ दशमलव ८० बिन्दुमा आइपुुगेको छ । कारोबार अवधिभर बजारमा तीव्र उत्तारचढाव देखिएको छ । बजार खुलेको केही समयमै दुई हजार पाँच सयको बिन्दुबाट नेप्से पुनः फर्किएको थियो । यसले दुई हजार चार सयको मनोवैज्ञानिक बिन्दुबाट उकालो लाग्ने प्रयासको संकेत गर्छ । 

बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या, देशको आर्थिक अवस्था गिर्दो, विदेशी मुद्रा सञ्चितिको दबाबजस्ता विषयले अर्थतन्त्र थप समस्यामा परेको छ । मूल्यवृद्धिदर झनै बढेको छ । बैंकहरूले आर्थिक संकट निम्तिन सक्ने भन्दै विलासी वस्तु आयातमा रोक लगाएका छन् । यसले लगानीकर्ताको खर्च क्षमतामा पनि प्रभाव परेको छ भने प्राथमिकता पनि बदलिएको छ । त्रैमासको अन्तिम महिना भएकाले लगानीकर्ता ब्याज तिर्नुपर्ने चापमा परेकाले पनि बजारप्रतिको उत्साह कम छ । 

सोमबार धितोपत्र र ऋणपत्र गरी दुई सय ३३ कम्पनीको ५० लाखभन्दा बढीको कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंकको सेयर सबैभन्दा धेरै ६ करोड रुपैयाँदेखि १६ करोड रुपैयाँले  कारोबार हुन पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्स र निफ्राको सेयर मूल्यमा आएको गिरावटसँगै लगानीकर्ताले यी कम्पनीको सेयर खरिद–बिक्री बढाएका छन् भने नबिल बैंकको सेयर मूल्य निकै घटेकाले पनि यस कम्पनीको सेयर लगानीकर्ताले उठाउन थालेको ब्रोकरहरूको दाबी छ ।

यस दिन एक सय ७६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दै आएको छ ।  कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । ‘अन्य’ समूहको सूचक सबैभन्दा धेरै चार दशमलव ६२ प्रतिशतले घटेको छ भने जीवन बिमा समूहको सूचक ३ प्रतिशतमाथिले घटेको छ । 

इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । नेपाल दूरसञ्चार कम्पनी र हिमालयन पावर पार्टनरको सेयर मूल्य ५ प्रतिशतदेखि ६ प्रतिशतमाथिले घट्न पुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ८७ अंकले घटेर चार सय ५४ दशमलव ९७ बिन्दुमा आइपुगेको छ ।

See More On

सुझावित समाचार