नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न सुझाव दिएका हुन्।
अध्यक्ष ओलीले भने, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्। जातजाति पछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ।”
उनले अर्को प्रसंगमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे। वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै ओलीले लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको बैसाखी टेक्नु दुःखद भएको बताए।
प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए। रासस