गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न टोली गठन

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

राजदूत आचार्यले पाए जिम्मेवारी 

सरकारले पूर्वब्रिटिस गोर्खा सैनिकको पेन्सनलगायतका मागबारे बेलायतसँग वार्ता गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा आन्दोलनरत पूर्वसैनिकका प्रतिनिधिसहितको वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी मागबारे वार्ताका लागि आचार्य नेतृत्वको टोलीलाई जिम्मेवारी दिएको हो । 

पूर्वगोर्खा सैनिकले लामो समयदेखि ब्रिटिस नागरिकसरह गोर्खा सैनिकको तलब र पेन्सनसहितका सुविधा माग्दै आएका छन् । सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकाश पाएका नेपाली नागरिकले असमान पेन्सन र सुविधा प्राप्त गर्दै आएको उनीहरूको भनाइ छ ।

बेलायती रक्षा मन्त्रालयका अनुसार ब्रिटिस सेनामा करिब ३५ सय नेपाली नागरिक कार्यरत छन् भने ३५ हजार अवकाशप्राप्त गोर्खा सैनिक र परिवारले पेन्सन बुझ्दै आएको छ । तर, १९९७ पछि अवकाश भएका गोर्खालाई बेलायतीसरह पेन्सन सुविधा दिएको छ । 

गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा नेपालीहरूमाथि भएको अन्यायबारे बेलायतको राजपरिवार जानकार रहेको पूर्वगोर्खाहरू बताउँछन् । उनीहरूका अनुसार राजपरिवारले यसबारे सरकारलाई ध्यानाकर्षण पनि गर्दै आएको छ । 

सुझावित समाचार