नेप्से ५३ अंकले ‘बाउन्स ब्याक’

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

मंगलबार सेयर बजार ५३ दशमलव ३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलव २८ बिन्दुमा पुगेको छ । उच्च अंकले बजार बढे पनि कारोबारमा भने ह्रास आएको छ । बैंकहरूले निक्षेपको ब्याजदर दोहोरो अंकमाथि पुर्याएसँगै यसको प्रभाव बजारमा परेको मानिएको थियो । तर, बजार दुई हजार सात सयको तहमा आइपुग्दा पुनः वृद्धिको बाटोमा देखिएको छ । संसद्बाट बुधबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने र यसले जलविद्युत् क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षामा यो क्षेत्रका कम्पनीहरूमा उछाल आएको दाबी ब्रोकरहरूले गरेका छन् । यही कारण जलविद्युत् कम्पनीका नेप्सेमा सूचीकृत सबै ४५ वटै कम्पनीको सेयर मूल्य बढेको छ ।

दुई सय २४ स्क्रिप्टका ६३ लाख कित्ता धितोपत्र र ऋणपत्रको खरिद–बिक्री हुँदा तीन अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टिलरी लिमिटेड, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, जीवन विकास लघुुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १३ करोड रुपैयाँदेखि २२ करोड ७७ लाख रुपैयाँसम्मको कारोबार भएको छ । 

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब ५० करोड रुपैयाँले घटेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १० दशमलव ८३ अंकले बढेर पाँच सय ५२ दशमलव १३ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका सबै १३ समूह सूचक सकारात्मक रहेका छन् । जलविद्युत् समूह, विकास बैंक समूह, अन्य समूह, माइक्रो फाइनान्स समूह, जीवन बिमा समूह, निर्जीवन बिमा समूहका  सूचक १ प्रतिशतदेखि ४ प्रतिशतसम्मले बढेका छन् । एक सय ७९ वटा कम्पनीको मूल्य बढेको छ भने सातवटाको मात्र मूल्य घटेको छ । न्यादी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । तेह्रथुम पावर, हिमालयन ऊर्जा विकास, कालिका पावर र छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ देखि ९ प्रतिशतसम्मले बढेको छ ।  मूल्य उच्चदरमा घट्नेमा विभिन्न सामूहिक लगानी कोष रहेका छन् । एनआइसी एसिया ब्यालेन्स फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड, सिटिजन्स म्युचुअल फन्डको सेयर मूल्य २ देखि ३ प्रतिशतभन्दा धेरैले घटेको छ । 

See More On

सुझावित समाचार