युक्रेन र रसियाबीच बढ्दो तनाव र अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बोर्ड (फेड)ले नीतिगत ब्याजदरमा वृद्धि गर्ने अपेक्षामा डलरको भाउ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढ्दा भारतीय मुद्रा कमजोर भएको छ । यसको प्रभाव भारुसँग स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको नेपाली मुद्रामा समेत देखिएको हो ।
मंगलबार डलरको भाउ दुई महिनायताकै उच्च भएको छ । मंगलबारका लागि राष्ट्र बैंकले एक डलरको मूल्य एक सय २१ रुपैयाँ २८ पैसा तोकेको छ । बैंकहरूले ग्राहकलाई डलर बिक्री गर्दा लिने दर हो यो । बैंकहरूले खरिद गर्न सक्ने मूल्य भने एक सय २० रुपैयाँ ६८ पैसा तोकिएको छ । बैंकहरूले एक सय २० रुपैयाँ आठ पैसादेखि एक सय २० रुपैयाँ ४५ पैसासम्ममा डलर बिक्री गरेका छन् ।
भारतीय बजारमा बिहानी सत्रको कारोबारमा प्रतिडलर १२ पैसाले भारु सस्तो भएको छ । यो करिब नौ सातायताकै न्यून दर कायम भएको हो । युक्रेनमा बढ्दो तनावबीच त्यहाँका राष्ट्रपतिले बुधबार एकताका लागि राष्ट्रिय गान गाउन र भवनमा राष्ट्रिय झन्डा फहराउनसमेत मुलुकवासीलाई आह्वान गरेका छन् ।
कतिपय पश्चिमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने सोही दिन रसियाले युक्रेनमाथि आक्रमण गर्न सक्ने आकलनसहितका समाचार प्रकाशन गरेका छन् । सञ्चारमाध्यमका अनुसार अमेरिकाले युक्रेनलाई करिब एक खर्ब (१ अर्ब डलर) बराबरको आर्थिक सहयोगस्वरूप सार्वभौम ऋण दिने तयारीसमेत गरिरहेको छ । विश्वमा भूराजनीतिक तनाव बढ्दै जाँदा सुन तथा डलरको मूल्यमा पनि वृद्धि देखिन थाल्छ ।