सेयर बजारमा हरियाली, नेप्से ५३ अंकले बढ्यो

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ। साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार ०.०८ अंकले वृद्धि भएको थियो। आज सेन्सेटिभ इन्डेक्स १०.८३ अंकले बढेको छ।

सोमबारको तुलनामा आज कारोबार रकममा भने केही गिरावट आएको छ। आज २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा कारोबार भएको छ। सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा धेरै जलविद्युत् उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य उपसमूह ३.३८ प्रतिशत, फाइनान्स २.८५, माइक्रोफाइनान्स २.८२, विकास बैंक २.७१, लगानी उपसमूह २.४९ र बाँकी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

आज न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। तेह्रथुम पावरको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ। आज प्रायः सबै म्युचुअल फन्डहरूको सेयरमूल्यमा गिरावट आएको छ।

सुझावित समाचार