स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ। भोलिदेखि लागू हुने गरी नामावली संकलन कार्य बन्द गरिएको हो। आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार निर्वाचन आचारसंहिताअनुसार नामावली संकलन कार्य बन्द गरिएको हो। आयोगले देशभर मतदाता नामावली संकलन हुने कार्यालयहरूलाई भोलिदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिएको छ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो।
सो बैठकले नामावली संकलन रोक्ने निर्णय गरेको हो। आयोगले हालसम्म संकलन भएको नामावली प्रकाशित गर्ने जनाएको छ। मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ।