निर्वाचनको मितिमा दलहरूबीच सहमति जुटेको खबरसँगै आइतबार एकै दिन एक सय पाँच अंकसम्म बढेको बजारले पछिल्ला दिनमा भने त्यही गति कायम गर्न सकेन । यद्यपि, साताभरमा भने नेप्सेले करिब ९७ अंक जोड्न सकेको छ ।
सातामा चार दिन मात्र बजार खुल्दा २६ अर्ब रुपैयाँको कारोबार भएको छ । दैनिक औसत कारोबार रकममा भने अघिल्लो साताको तुलनामा गत साता १५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
सातागत आधारमा सबै समूहगत परिसूचकमा सुधार देखिए पनि जलविद्युत् र लगानी समूहमा सबैभन्दा धेरै उछाल आएको छ । यी दुवै समूह ८ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन् ।
जलविद्युत् समूहकै अरुण भ्याली, अपिको कारोबार बढेको छ भने लगानी समूहको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)को सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यी तीन कम्पनीको सातामा एक अर्ब २५ करोडदेखि एक अर्ब ६० करोडसम्मको कारोबार भएको छ । कम्पनीले एक सयबराबर ३९ कित्ता (एकबराबर ०.३९ कित्ता)को दरमा हकप्रद जारी गर्ने तयारीमा छ । यसैकारण पनि कम्पनीमा लगानीकर्ता झुम्मिएका हुन् ।
त्यस्तै, अरुण भ्यालीमा पनि अपिकै प्रमुख लगानीकर्ता रहेकाले यसको सेयर पनि सँगसँगै बढ्न थालेको जस्तो देखिन्छ । एचआइडिसिएलले बैंक तथा वित्तीय संस्थाहरूले सहर सहवित्तीय लगानी गर्न सक्ने राष्ट्र बैंकको पछिल्लो व्यवस्थासँगै यसमा आकर्षण बढेको देखिन्छ ।
प्राविधिक विश्लेषण भन्छ– पर्खनु बुद्धिमत्ता
साताको पहिलो दिनको कारोबारमा उच्च अंकले बढेको बजार त्यसपछि भने सामान्य उतारचढावमा देखिँदै अन्तिम दिन करिब–करिब सुटिङ स्टार डोजी आकृति बनेको छ । यसले बजार घट्ने संकेत गर्छ । तर यसको विश्वसनीयता भने मध्यम हुन्छ । पछिल्लो तीन दिनमा लगानीकर्ताले ठोस निर्णय लिन नसकिरहेको देखाउँछ । त्यसैले पनि आइतबारको कारोबार हेरेर लगानी गर्नु बुद्धिमत्ता हुन्छ ।
त्यसो त नेप्सेको मुभिङ एभरेज रेखाले पनि पर्खन सही हुने संकेत गरिरहेको छ । किनकि, यसमा सातदिने मुभिङ एभरेज रेखा र २१ दिने रेखाभन्दा माथि नै रहे पनि हाल टाँसिएरै अगाडि बढिरहेको छ । यसलाई ध्यान दिनुपर्छ । सातदिने मुभिङ एभरेज रेखा माथि नै रहेमा बुलिस प्रवृत्ति कायम रहने, तर २१ दिने रेखा माथि लागेमा बियरिस प्रवृत्ति सुरु हुनेछ ।
नेप्सेको आरएसआई सूचक हाल ५१ दशमलव ९६ मा छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।
पिभट विश्लेषणले भने आगामी साता दुई हजार आठ सय ६० मा पहिलो टेवा प्राप्त गर्न सक्ने र यसको कारण नेप्से बढ्न थाले दुई हजार नौ सय आठमा पहिलो प्रतिरोध परीक्षण गर्नेछ ।