विश्वकपमा फेरि छनोट हुने विश्वास छ : प्रशिक्षक पुबुदु

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

प्रशिक्षक पुबुदु दासानायकेले आफ्नै प्रशिक्षणमा नेपाललाई दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट गराउने लक्ष्य लिएको बताएका छन् । यसअघि सन् २०१४ मा  बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । यो बेला पनि पुबुदु नै प्रशिक्षक थिए । यसै वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने लक्ष्य प्रशिक्षक पुबुदुले राखेका छन् । यद्यपि, छनोट हुन त्यति सजिलो भने नभएको उनले बताएका छन् । ‘मलाई आशा छ, नेपाल अस्ट्रेलियामा हुने विश्वकपमा हुनेछ,’ नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आयोजना गरेको भर्चुअल छलफलमा पुबुदुले भने, ‘दोस्रोपटक नेपाललाई विश्वकपमा पुर्याउने जिम्मेवारी मेरो काँधमा छ, यसका लागि मेरोतर्फबाट शतप्रतिशत समय दिनेछु ।’ 

अर्को महिना ओमानमा आइसिसी टी–२० ग्लोबल क्वालिफयर हुनेछ । टी–२० विश्वकप छनोटअघि नेपालले ओमानमा चार राष्ट्र सम्मलित टी–२० सिरिज खेल्नेछ । नेपालले युएई, आयरल्यान्ड र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपअघि नेपालले तयारी स्वरूप सिरिज खेल्न लागेको हो । टी–२० सिरिज २८ माघदेखि २ फागुनसम्म चल्नेछ । नेपालले २८ माघमा ओमान, २९ माघमा युएई र  २ फागुनमा आयरल्यान्डसँग खेल्नेछ ।  नेपालले चार टोलीविरुद्धको प्रतिस्पर्धामा धेरै फाइदा लिन सक्ने प्रशिक्षक पुबुदुले बताए । ‘चार टोलीसँग प्रतिस्पर्धा गर्दा गाह्रो हुन्छ, नेपालले विश्वकप छनोटमा हरेक खेलमा राम्रो खेल्नु छ,’ उनले भने, ‘विश्वकपमा छनोट भएमा एकदिवसीय प्रतियोगिताका लागि पनि फाइदा हुनेछ ।’

विश्वकप छनोटमा हरेक खेलमा राम्रो खेल्नुपर्ने भनाइ पुबुदुको छ । नेपाली टोलीमा प्रतिभाशाली युवा खेलाडी भएकाले उनीहरूको भविष्य राम्रो भएको प्रशिक्षक पुबुदुले जनाएका छन् । ‘अहिले नेपालको टोलीमा युवा प्रतिभाशाली युवा खेलाडी छन्, नेपालको टी–२० भविष्य निकै राम्रो छ,’ उनले भने । कार्यक्रमा नेपालका कप्तान सन्दीप लामिछानेले टोली नेतृत्वको अवसर पाउँदा खुसी लागेको बताए । उनले टोलीमा रहेका हरेक खेलाडीको कुरा सुनेर अगाडि बढ्ने बताएका छन् । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह एको छनोट प्रतियोगिता ६ फागुनमा ओमानमा हुँदै छ । नेपालको समूहमा आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् ।

कप्तान सन्दीपलाई कोरोना संक्रमण
अस्ट्रेलियाको विग वास टी–२० क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएका कप्तान सन्दीप कोरोना संक्रमित भएका छन् । सोमबार भएको भर्चुअल कार्यक्रममा सन्दीपले आफू चार दिनदेखि आइसोलेसनमा बसेको बताएका छन् । ‘चार दिनदेखि आइसोलेसनमा बसेको छु, थप चार–पाँचजना खेलाडी पनि संक्रमित भएका छन्,’ उनले भने । गत सातामा सन्दीप अस्ट्रेलियाबाट नेपाल फर्किएका थिए । 

 फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त
क्यानले भारतका राघुराम श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ । लेभल–३ सिए हाई पर्फमेन्स प्रशिक्षक राघुराम टी–२० विश्वकपको छनोटका लागि फिल्डिङ प्रशिक्षक नियुक्त भएका हुन् । श्रीनिवास नेपालले त्रिवि मैदान कीर्तिपुरमा गरिरहेको प्रशिक्षणमा काम  थालिसकेका छन् । श्रीनिवास नेपालको फिल्डिङ प्रशिक्षक नियुक्त भएपछि प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले खुसी जनाए । पुबुदु र श्रीनिवासले अमेरिकामा सँगै काम गरेका थिए । 

 समूह विभाजन
आइसिसीले समूह एलाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ । समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न् ।समूह १ र  २ का शीर्ष दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले नै अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नुपर्नेछ । त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

 टी–२० विश्वकप छनोट खेल 
६ फागुन : नेपाल–ओमान
७ फागुन : नेपाल–फिलिपिन्स
९ फागुन : नेपाल–क्यानडा
१० फागुन : सेमिफाइनल १ र २ 
१२ फागुन फाइनल  

सुझावित समाचार