सरकारले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि माघ १५ गतेसम्म सिनेमा हल, विद्यालय, जिम हललगायत भिडभाड हुने स्थान बन्द गरेको छ। कोरोना संक्रमणको संख्या ह्वात्तै बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले उपत्यकामा चल्ने सवारीसाधनहरूमा जोरबिजोर प्रणाली भएको लागू गरेको हो। तर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्दा झन् भिडभाड बढेको विज्ञहरूको भनाइ छ। अहिले अवस्था सकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरेर झन् भिडभाड बढाएको दाबी गर्छन्, यातायातविज्ञ आशिष गजुरेल। बाहिरी देशहरुमा पनि सार्वजनिक यातायातमा यो अभ्यास सफल नभएको उनको दाबी छ।
‘सडकमा गुडिरहेका सार्वजनिक यातायातलाई झन् हामीले संख्या घटाइरहेका छौँ। नेपालमा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिहेको छ। सार्वजनिक सवारीसाधनभन्दा निजी सवारीसाधनलाई मात्रै यस्तो नियम लागू गर्नुपर्ने हो। मानिसलाई दैनिकीको लागि पनि हिँडडुल गर्नुपर्ने हुन्छ। जोरबिजोर प्रणालीले यातायातको संख्या कम हुन्छ ,’ उनले भने।
अहिलको अवस्था सार्वजनिक यातायात सेवालाई झन् व्यवस्थित गर्नुपर्ने उनको तर्क छ। गजुरेल भन्छन्,‘यस्तो अवस्थामा झन् सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्ने हो। यातायातको संख्या घटाएर उल्टो भिडभाड गरारहेका छौँ।’
नेपालमा सार्वजनिक यातायात व्यवस्थापन नगरे सवारी चाप बढ्दै जाने उनले बताए। सार्वजनिक यातायातलाई व्यवस्थित नबनाए निजी सवारीसाधनको चाप बढ्ने र सडक झन् अस्तव्यस्त हुने गजुरेलको बुझाइ छ।
सार्वजनिक यातायातलाई जोखिममुक्त बनाउन राज्यले लगानी गर्नुपर्ने उनी बताउँछन्। ‘हाम्रो सार्वजनिक यातायात गुणस्तरीय छैन। सार्वजनिक यातायात जोखिम मोलेर सर्वसाधारण यात्रा गर्न बाध्य छन्। अहिले सवारीसाधनको संख्या घटाएर जोरबिजोर प्रणालीको औचित्य नै नभएको उनको दाबी छ।
‘सार्वजनिक यातायात संख्या घटेको छ। यसले त झन् संक्रमणको जोखिम बढाइरहेको छ। सवारीसाधनको संख्या घटेपछि यात्रुहरू कोचाकोच गरी यात्रा गरिरहेका छन्। संक्रमणको जोखिम अझ थपिएको छ। यसकारण पनि जोरबिजोर प्रणाली वैज्ञानिक छैन। सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्दा भने भिडभाड कम हुन्छ,’ उनले भने। सार्वजनिक यातायातको संख्या घटाएर भिडभाड कम गर्ने र संक्रमण न्यूनीकरण गर्ने नियम वैज्ञानिक नरहेको उनको विश्लेषण छ।