झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथमिकता दिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
झापाको कमल गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बलको पाथीभरा जवान तालिम केन्द्रमा सि.सं २३९ (ख) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले जनधनको उच्च क्षति भएको र उद्धारका क्रममा देखिएको चुनौतीबाट पाठ सिक्दै विपत् पूर्वतयारी र शीघ्र उद्धारमा जुट्न निर्देशन दिएका हुन् । उनले आइपर्न सक्ने विपत् प्रतिकार्यका लागि सधैँ तयार रहन सशस्त्र प्रहरीलाई निर्देशन दिए। एआइजी मगरले विज्ञान र प्रविधिको विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौती थपिएको बताए । ‘आजको सुरक्षा वातावरण र परम्परागत चुनौतीमा मात्रै सीमित छैन । सूचना-प्रविधि, साइबर अपराध, जलवायु परिवर्तन, मानव सुरक्षा तथा अन्तर्राष्ट्रिय अपराधको स्वरूपमा परिवर्तन भइसकेका छन्,’ उनले भने, ‘अबको तालिम प्रणाली पनि परम्परागत शैलीबाट माथि उठेर प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तर हुन आवश्यक छ । राष्ट्रिय हित, सामाजिक सद्भाव, सूचना सुरक्षा तथा विपद्को तयारीमा विशेष ध्यान दिनुपर्ने आवश्कयता विश्वपरिवेशले देखाएको छ ।’
उनले सशस्त्र प्रहरी बल नेपाललाई अझ सक्षम, चुस्त, आधुनिक र परिणामुखी संगठन बनाउन निरन्तर सिक्ने संस्कार विकास गर्नुपर्ने बताए । दीक्षित भएका सशस्त्र प्रहरी जवानलाई तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा प्रयोग गर्न तथा नयाँ सिप हासिल गर्दै आफूलाई परिस्कृत गर्दै जान निर्देशन दिए। उनले सशस्त्र प्रहरीको शक्ति भनेको अनुशासित जनशक्ति, सक्षम नेतृत्व, व्यावसायिक दक्षता, संस्थागत एकता र जनताले आफूहरू राखेको विश्वास भएको बताए। ‘दीक्षित हुनेले सशस्त्र प्रहरी बल नेपालको गौरवशाली परम्परालाई आत्मसाथ गर्दै आफ्नो आचारण, व्यवहार र कार्यसम्पादनले संगठनबाट निष्ठा अझ उच्चो बनाउने संकल्प लिनुपर्दछ,’ उनले भने, ‘शान्तिसुरक्षा कायम गर्ने दौरानमा आइपर्ने चुनौतीको अटल रूपमा समाना गर्नुहोस्, आदेश पालना गर्दा कानुन र मानव मर्यदाको सीमाभित्र रहेर जिम्मेवारी पूरा गर्नुहोस्,’ उनले भने, ‘सशस्त्र प्रहरीभित्र कुनै दल, जात वा समुदाय छैन। हाम्रो पहिचान र धर्म भनेको संगठनको ऐन, नियम, मूल्य-मान्यता र राष्ट्रप्रतिको सम्पूर्ण हो। जात भनेको सशस्त्र प्रहरी बल र धर्म भनेको सशस्त्र प्रहरी बलको ऐन, नियम हो।’
बिहीबार भएको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलको पाथीभरा जवान तालिम केन्द्रबाट ११७ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका थिए । कार्यक्रममा तालिमका क्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो।