नेपालको क्रिकेटमा सम्भवतः एउटा ठूलो दुर्घटना टरेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडी सोमबार बन्द प्रशिक्षणमा फर्किएका छन् । क्लोज क्याम्पमा नबस्ने अडान लिएका नौजना खेलाडी बन्द प्रशिक्षणमा फर्कदा नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवाद तत्कालका लागि साम्य भएको छ ।क्यानले फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि क्लोज क्याम्प डाकेको थियो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले घोषित प्रारम्भिक ३० मध्ये ११ जना खेलाडी मात्र ठमेलको रमादा होटेलमा रिपोर्टिङ गरेपछि खेलाडी र क्यानबीचको विवाद थप चुलियो ।
आइतबारसमेत पूर्वकप्तान मल्लसहित अन्य खेलाडीले प्रशिक्षकलाई रिपोर्टिङ नगर्दा नेपालको क्रिकेट थप विवादतर्फ मोडिएको थियो । तत्कालै क्यानका अध्यक्ष चतुरबहादुर चन्द र मुख्य प्रशिक्षक दासानायकेलगायत अन्य पदाधिकारीले ‘विद्रोह’मा उत्रिएका खेलाडीहरूसँग वार्ता गरे । सौहार्द रूपमा भएको वार्ताले खेलाडीहरूको मागप्रति लचिलो हुने सहमति गरेको थियो । साथै पूर्वकप्तान मल्लले सोमबार बिहान साथीहरूसँग सरसल्लाह गरी निर्णय गर्ने जनाएका थिए ।
साथीहरूसँगको छलफलपछि मल्लसँगै अन्य खेलाडी पनि रमादा होटेल पुगेका थिए । क्यानले गरेको खेलाडी ग्रेडिङसम्बन्धी टिप्पणी मिडियामा दिएको आरोपमा क्यानले मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीलाई अघिल्लो महिना कारबाही गरेको थियो । क्यानले कारबाही स्वरूप मल्लको कप्तानी तथा ऐरीको उपकप्तानी खोसेको थियो । साथै, यी दुई खेलाडीसहित सोमपाल र कमलसिंहले सन् २०२२ को प्रारम्भिक ६ महिनाको तलबसमेत नपाउने निर्णय क्यानले गरेको थियो ।
मिडियामा बोलेको आधारमै कारबाही गर्न नहुने, ग्रेडिङ वैज्ञानिक नभएको, कारबाही फिर्ता हुनुपर्ने र नियमअनुसार पाउनुपर्ने ६ महिनाको तलब नपाउँदासम्म क्लोज क्याम्पमा नफर्किने खेलाडीहरूले अडान लिएका थिए । यी मागमा अन्य खेलाडीहरूले समेत पूर्वकप्तान मल्ललाई साथ दिँदै क्लोज क्यापमा नआउने निर्णय लिए । तर, सोमबारको छलफलपछि नेपालको क्रिकेट सम्भावित ठूलो दुर्घटनाबाट बचेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले प्रतिक्रिया दिए ।
‘खेलाडीहरू होटेलमा आएर रिपोर्टिङ गरेपछि हामी ठूलै दुघर्टनाबाट बचेका छौँ,’ कार्यबाहक सचिव मल्लले नयाँ पत्रिकालाई भने, ‘हामीले व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रका लागि खेल्नुपर्छ भनिरहेका छौँ, खेलाडीहरू पनि यही भावना राखेर क्लोज क्याम्पमा फर्किए ।’ मल्लले वर्तमान विवादलाई घरभित्रको विवादका रूपमा लिएका छन् । ‘यो घरभित्रको विवाद हो, विवाद घरबाहिर होइन, भित्रै सुल्झाउनुपर्छ,’ उनले थपे । क्यान खेलाडीहरूको अभिभावक भएको नाताले कसैमाथि भेदभाव नगर्ने उनले जनाए । ‘अभिभावकले सबै सन्तानलाई एकै व्यवहार गर्छ, हाम्रो प्रयास पनि यस्तै हुनेछ, क्यानले कोही पनि खेलाडीलाई तलमाथि हुन दिँदैन,’ मल्लले भने, ‘राष्ट्रलाई आवश्यक परेको वेलामा खेलाडीहरूले साथ दिएका छन् ।’
क्यानको कार्यसमितिको बैठक छिट्टै बस्ने र त्यसमा खेलाडीहरूको सेन्ट्रल कन्याट्याक्ट बारे छलफल हुने उनले बताए । ‘सेन्ट्रल कन्ट्याक्टमा नपरेका खेलाडीको
बारेमा पनि छलफल हुनेछ,’ उनले भने । यसैबीच, क्यानले सन् २०२१ को ग्रेडिङमा नपरेका रोहितकुमार पौडेल, विक्रम सोब र गुल्सन झाको विषयमा पनि पुनर्विचार गर्ने भएको छ । कप्तान सन्दीप लामिछाने अस्ट्रेलियामा चलिरहेको बिग वासमा व्यस्त छन् । सन्दीप आबद्ध होबार्ट हरिकेन्सको पहिलो चरणको खेल १९ जनवरीमा सकिनेछ । त्यसपछि उनी क्लोज क्यापमा आउनेछन् ।
विवाद टाइमलाइन
क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवाद कात्तिकमा सार्वजनिक ग्रेडिङबाट सतहमा आएको थियो । क्रिकेट संघले गरेको ग्रेडिङमा खेलाडीहरूले असन्तुष्टि जनाए र सेन्ट्रल कन्ट्याक्टमा हस्ताक्षर नगरेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीले सञ्चारमाध्यममा असन्तुष्टि पोखेका थिए ।