कर्णाली याक्सले भित्र्यायो दोस्रो बंगलादेशी खेलाडी

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण
  • बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि दोस्रो बंगलादेशी खेलाडी अनुबन्ध गरेको छ । शनिबार क्लबले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको जनाएको छ । यसअघि क्लबले अकबर अलीलाई भित्र्याएको थियो । योसँगै गृहेन्द्र घिमिरे मालिक रहेको कर्णालीले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्कवाट पनि टिममा अनुबन्ध भइसकेका छन् ।

बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले सात खेलमा २१९ रन बनाएका थिए । दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए । उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए ।

उनी एनपिएलमा पहिलोपटक खेल्दै छन् । यसअघि कर्णालीले तेस्रो सिजनकै लािग २४ वर्षीय अकबरलाई अनुबन्ध गरेको थियो ।

उनी सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यू–१९ विश्वकप जित्दाका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । फाइनलमा अकबरले अविजित ४३ रन बनाएका थिए । उनको उक्त प्रदर्शनका लागि उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भएका थिए ।

कर्णाली याक्समा मालिक घिमिरेले यसपटक नयाँ खेलाडीबाट नतिजाको आशा गरेको बताए । ‘हामी यसपटक धेरैभन्दा धेरै नयाँ खेलाडीलाई मैदानमा उतार्दै छौँ । बंगलादेशका खेलाडीलाई छोटो समयमा पनि यहाँको मौसमसँग खेल्न सहज हुने हुँदा छनोट गरेका हौँ,’ उनले भने । 

पहिलो सिजन भारतीय चर्चित खेलाडी शिखर धवन अनुबन्ध गरेको कर्णालीले यसपटक समेत चर्चित अनुहारलाई अनुबन्ध गर्ने योजना बनाएको घिमिरेले बताए । यसपटक उपाधि जित्ने लक्ष्य राखेको कर्णालीले अघिल्लो साताबाटै नियमित प्रशिक्षण गरिरहेको छ । तेस्रो सिजनको एनपिएल कात्तिक ९ बाट सुरु हुनेछ । 

यस्तो बन्यो कर्णाली टिम
कर्णालीले यसपटक पनि ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । टोलीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमका अलराउन्डर गुल्सन झा र नन्दन यादव पनि कर्णालीमै रहेका छन् । सोमपाल, गुल्सन र नन्दन पछिल्लो सिजन पनि कर्णालीमै थिए । यस्तै, कर्णालीकै खेलाडीहरू विपिन शर्मा, युनिसविक्रम सिंह, दिवान पुन, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, शुभ कंसाकार टिममा रहेका छन् । पवनसँगै, दीपक, युनिस, युवराज, विपिन, दीपेन्द्रले गत सिजन पनि कर्णालीबाटै खेलेका थिए । यसपटक सूर्य तामाङ, सचिन शर्मा, दिवन पुन र शुभ कंसाकार टिममा अनुबन्ध भएका हुन् ।

क्लबले सोमपाल, गुल्सन, नन्दन, दीपक, पवन, युनिस र युवराजलाई रिटेन गरेको थियो । यस्तै, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिन शर्मा र इमरान शेखलाई रिटेन गरेको थिएन । अक्सनबाट विपिन र दीपेन्द्रलाई अनुबन्ध गरेको थियो । 

सुझावित समाचार