नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियन चुनावमा एमाले–माओवादी समर्थित कर्मचारी संघ विजयी

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडअन्तर्गत आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ २५ मतान्तरले  विजयी भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेस समर्थित कर्मचारी युनियनले दुई सय पाँच र एमाले–माओवादी समर्थित कर्मचारी संघले दुई सय ३० मत ल्याएको छ। यसअघि पनि निगमको आधिकारिक ट्रेड युनियन निर्वाचनमा कर्मचारी संघ नै विजयी भएको थियो । यद्यपि, कर्मचारी संघको मतान्तर भने खुम्चिएको छ । अघिल्लोपटक एक सय ७ भोटले विजयी भएको संघको ठूलो मत यसपटक कांग्रेस समर्थित युनियनका कर्मचारीले तान्न सफल भएको हो ।

आयल निगमको निर्वाचनमा कुल ४ सय ५६ मतदाता थिए । त्यसमध्ये चार सय ४२ मत खसेको र आठ मत बदर भएको थियो । प्राप्त नतिजाअनुसार टेकुस्थित प्रधान कार्यालयमा एक सय ३८ मत खसेमध्ये संघले १९ मतान्तर राख्दै ७७ मत ल्याएको थियो भने युनियनले ५८ मत ल्याएको थियो । निगमको १३ कार्यालयमा भएको निर्वाचनमा युनियनले ६ र संघले सात स्थानमा ‘लिड’ गरेका छन् । तर, युनियनले अधिकांश ठाउँमा झिनो मतले लिड गर्ने र संघले फराकिलो अन्तरले लिड गरेकाले अन्तिम नतिजामा संघ विजयी भएको हो ।

निर्वाचन समितिका अनुसार निगमको जनकपुरस्थित हवाई इन्धन डिपो र शाखा कार्यालयमा संघको ६ र युनियनको ११ मत आएको छ । त्यस्तै, सबैभन्दा ठूलो इन्धन डिपोको रूपमा रहेको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा संघको १६ र युनियनको २० मत आएको छ । वीरगन्जस्थित शाखा कार्यालयमा संघको २ र युनियनको ३, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा संघको १४ र युनियनको १६, थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा संघको २१ र युनियनको १२, नेपालगन्जस्थित शाखा कार्यालयमा संघको ११ र युनियनको १२, धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा संघको १२ र युनियनको तीन तथा सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालयमा संघको ४ र युनियनको तीन मत आएको छ ।

त्यस्तै, पोखराको गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा संघको नौ र युनियनको ७, झापाको चारआलीस्थित शाखा कार्यालयमा संघको नौ र युनियनको एक, विराटनगरस्थित एक नम्बर प्रादेशिक कार्यालयमा संघको १७ र युनियनको १९ तथा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपोमा संघको ३१ र युनियनको ४१ मत आएको छ ।

निर्वाचित आधिकारिक ट्रेड युनियनको अध्यक्ष निगमको सञ्चालक समितिमा आमन्त्रित सदस्य हुने व्यवस्था भएकाले जितको लागि दुवै समूह तीव्र प्रतिस्पर्धामा उत्रिएका थिए । बोर्डसदस्यसमेत रहने आधिकारिक ट्रेड युनियनले निगमको नीति–कार्यक्रम र बजेटमा प्रत्यक्ष हस्तक्षेप गर्ने तथा आफू अनुकूलका कर्मचारीको सरुवा–बढुवा र संरक्षण गर्ने ल्यागत राख्छन् । विजयी भएपछि कर्मचारी संघका अध्यक्ष मधुमास पुनले सबै कर्मचारीलाई समेटेर अघि बढ्ने बताए । ‘चुनावपछिका दिनमा निगम र कर्मचारी हितमा हामी क्रियाशील हुनेछौँ,’ उनले भने ।

सुझावित समाचार