प्रहरीले किसानलाई दिन भण्डारण गरिएको गहुँको बिउ लुटपाट र सवारीसाधन आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई मंगलबार साँझ रिहा गरेको छ । गहुँको बिउ भण्डारण गरेको गोदाममको ताला फोडेर बिउ लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव मुद्दा चलाइएका मिथिलेश यादवसहित १८ जनालाई रिहा गरेको हो ।
अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट म्याद थप गरिएका यादवलाई अदालतको आदेशमा साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मंगलबार दिउँसो जिल्लाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँगको बैठकमा आन्दोलनको क्रममा पक्राउ गरिएकालाई रिहा गरी निषेधाज्ञा फिर्ता गरिनुपर्ने माग उठेपछि सवारीसाधनको आगाजनी र तोडफोडमा संलग्नलाई हाजिरी जमानीमा छोडिएको हो ।
बैठकपछि कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त विज्ञप्तिमार्फत स्थानीय प्रशासनसँग आन्दोलनको निहुँमा सिर्जना गरिएको प्रतिकूल अवस्थाको सामान्यीकरण गर्न माग गर्दै विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गरी निषेधाज्ञा फिर्ता लिन माग गरेका थिए ।
आन्दोलनको नाममा आगजनी र तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी थुनामा राखिएकाको सन्दर्भमा जनमत पार्टीका अध्यक्ष सिके राउतले फेसबुकमार्फत लगाएको लाञ्छना र भ्रमपूर्ण अभिव्यक्तिप्रति सिराहा प्रहरीले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । हिरासतमा राखिएका सबैलाई कानुनबमोजिम मानवोचित व्यवहार एवं सुरक्षा प्रदान गरी मानवअधिकारको मापदण्डअनुसार मानवीय व्यवहार गरिएको खाने, बस्ने, ओढ्ने, ओछ्याउनेसमेतको समुचित व्यवस्था गरिए पनि भ्रमपूर्ण अभिव्यक्ति सार्वजनिक गरेकोे भन्दै प्रहरीले खेद व्यक्त गरेको हो ।
स्थानीय प्रशासनले मंगलबार बिहानदेखि जारी गरेको निषेधाज्ञा साँझबाट हटाएको छ । प्रहरीले पक्राउ गरेका किसानको रिहाइलगायत सातबुँदे मागसहित राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको हडताल उग्र बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार र बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण पाँच सय मिटरआसपासका क्षेत्र र चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पिके इन्टरप्राइजेज (पेट्रोल पम्प)सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटरआसपासका क्षेत्रमा जारी गरेको निषेधाज्ञा मंगलबार साँझ हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा जारी सूचनामा उल्लेख छ ।
बयलवास दिनभर तनावग्रस्त बुधबार साँझसम्म निषेधाज्ञा
प्रहरी भ्यानको ठक्करबाट आइतबार राति एकजनाको मृत्युको घटनालाई लिएर सर्लाहीको ईश्वरपुर क्षेत्र मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास चलाएको थियो । मंगलबार बिहानैै स्थानीय सडकमा निस्किएर प्रहरीमाथि ढुंगामुुढा गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच दर्जनौँपटक झडप भएको थियो । प्रहरी निरीक्षक कृष्ण गिरी प्रदर्शनकारीको ढुंगा लागेर गम्भीर घाइते भएका छन् । प्रदर्शनकारीतर्फ एकजनालाई खुट्टामा गहिरो चोट लागेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा गर्नुका साथै इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगोसमेत लगाइदिएका छन् ।
स्थानीयको प्रदर्शनपछि इलाका प्रहरी कार्यालय केशरगंजलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको छ । स्थिति थप जटिल बन्दै गएपछि जिल्लामा तीनै तहका सुरक्षा अधिकारीहरू मंगलबार बिहानैदेखि बयलवासमा छन् । सुरक्षा निकायको आपत्कालीन बैठकपछि बयलवास क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पूर्व ईश्वरपुर नगरपालिका–४, पश्चिममा वडा नम्बर ८, उत्तरमा ईश्वरपुर ५ र दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म हुलहुज्जत गर्न, भिड गर्न, कुनै पनि सभासम्मेलन गर्न निषेध गरेको छ ।
आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालक ईश्वरपुर नगरपालिका–५ का व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । प्रहरीले घटना लुकाउन खोजेको र शंकास्पद देखिएको भन्दै ईश्वरपुरका व्यापारीले सोमबार दिनभर बयलवास बजारमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । प्रहरीले भने रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आफैँ आएर ठोक्किएको दाबी गरेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्काल मलंगवास्थित जिल्ला अस्पताल पुर्याइए पनि उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । महतोको शव पोस्टमार्टमपछि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । माग पूरा नभएसम्म शव नबुझ्ने पीडित परिवारले बताएका छन् ।