साँझ छिप्पिँदै जाँदा ‘द इन्ट्रो ब्यान्ड’का चार युवा मिलन घिमिरे, सन्तोष लकान्द्री, युगल समाल र बाबु लामा बाँसुरी, गिटार, ड्रमलगायतका वाद्यवादन बोकेर घरबाट निस्कन्छन् । सधैँ वाद्यवादन बोकेर निस्किए पनि उनीहरूको गन्तव्य भने सधैँ अनिश्चित हुन्छ । तर, उनीहरूको काम भने निश्चित छ, सहरका रेस्टुराँ, पब वा क्लबमा गीत गाउने । संगीतमा गहिरो लगाव भएका, तर आफ्नै एल्बम ननिकालेका यी युवा काठमाडौंका पब, क्लबमा अरूकै चर्चित गीत गाउँछन् र आफ्नो सौखलाई निरन्तरता दिन्छन् ।
काठमाडौंको ठमेल, दरबारमार्ग, ललितपुरको झम्सिखेल र चल्तीका अन्य पब तथा क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीत अहिले ‘मेनु’जस्तै भएका छन् । जसलाई ‘कभर ब्यान्ड’को स्वर, शैली र संगीतले पस्किरहेका छन् । ‘कभर ब्यान्ड’का सदस्यले यही माध्यमबाट जीविकोपार्जन मात्रै चलाएका छैनन् क्लब, पब जानेहरूले मनोरञ्जन पनि लिइरहेका छन् ।
कोरोना महामारीपश्चात् यस्ता ‘कभर ब्यान्ड’हरू संकटमा परेको ब्यान्ड सदस्यहरू बताउँछन् । महामारीपछि ब्यान्डको आम्दानी निकै घटेको बताउँछन् द इन्ट्रो ब्यान्डका सदस्य सन्तोष लकान्द्री । ‘महामारीअघि राम्रै कमाइ हुन्थ्यो । त्यही कमाइले व्यक्तिगत खर्च, घरमा पैसा दिनसमेत पुग्थ्यो,’ उनले भने । पाँच वर्षअघि ‘कभर ब्यान्ड’ स्थापना गरेर क्लब, पब, बार, रेस्टुरेन्ट वा खुला कन्सर्ट गर्दै आएको लकान्द्रीले बताए । त, कोभिड–१९ पछि अन्य ‘कभर ब्यान्ड’हरूको पनि आम्दानी घटेको उनको भनाइ छ । ‘कोरोनाअघि एक रातको १५ हजारभन्दा माथि लिने गरेका थियौँ ।’ उनले भने, ‘अहिले पब र क्लबमा म्युजक सो गरेबापत एक रातको ६ हजारदेखि आठ हजारसम्म लिन्छौँ ।’
ब्यान्डका अर्का सदस्य मिलन घिमिरेले अहिले साताको तीन दिन मात्रै ‘लाइभ म्युजिक’ सो हुने गरेको बताए । महामारीअघि सातै दिन सो गर्ने गरेको उनले बताए । विशेष गरी साँझ ६ बजेदेखि राति १२ बजेसम्म क्लबमा लाइभ म्युजिक सो हुने गर्छ । उनी भन्छन्, ‘करिब दुई वर्ष घरमा थन्किएर बस्नुप¥यो । कतिपय ब्यान्ड त कोरोनापछि फुटेका पनि छन् । ब्यान्ड जोगाउँनै लागि भए पनि हामीले थोरै पेमेन्टमा काम गरिरहेका छौँ ।’
ठमेल र दरबारमार्गका क्लब, पब र बार गीत गाउने चल्तीको अर्को ‘कभर ब्यान्ड’ हो ‘डाइनामिक ब्यान्ड’ । कोरोना महामारीअघि हप्ताको सातै दिन ठमेल, दरबारमर्गलगायतका पब र क्लबमा यो ब्यान्डले लाइभ सो गथ्र्याे । अहिले भने साताको तीन दिनमा मात्रै खुम्चिएको बताउँछन्, ब्यान्डका सदस्य ग्याल्जेन तामाङ । उनी भन्छन्, ‘लाइभ सो गरेर धेरै साथीहरूको बाँच्ने आधार बन्यो । तर, अहिले कमाइ छैन । कम पैसामै सो गर्नुपरेको छ ।’
अहिले डाइनामिक ब्यान्डमा उनीसहित चारजना सदस्य छन् । उनीहरूले बेलुका ८ बजेदेखि लाइभ म्युजिक सुरु गर्छन् । ‘पहिलेजस्तो अझै माहोल बनिसकेको छैन । रेस्टुराँ र क्लबले पहिलेको जति पैसा दिन सकेको छैनन् । मिलाएर गरौँ भनेर अनुरोध गर्छन् । खाली हात बस्नुभन्दा सस्तोमा गर्नुपरेको छ,’ उनले दुःखेसो गरे ।
महामारीले कभर ब्यान्ड फिल्टर गर्यो
‘फ्युजन मन्त्र ब्यान्ड’का भोकलिस्ट आशिष गुभाजूको अनुभव पनि तामाङको जस्तै छ । कोरोना महामारीपछि ‘कभर ब्यान्ड’ नै फुटेर सोलो प्रस्तुति गर्न थालेको उनी बताउँछन् । कोभिडपछि ‘कभर ब्यान्ड’ फिल्टर भएर आएको उनको तर्क छ । उनी भन्छन्, ‘कभर ब्यान्ड मजाले फिल्टर भएर आएको छ ।
अहिले कभर ब्यान्डमा पैसाका लागि मात्रै गीत गाउने केटाहरू पनि छन् । खाना मात्रै पाए पनि गीत गाउने ब्यान्ड पनि छन् । क्लबमा गाउनु मात्रै ठूलो कुरा होइन । कलाकारिता केही गर्छु भन्नेहरूको महत्वपूर्ण प्लेटफर्म पनि हो यो । सम्भावना भएकाहरूलाई त्यसले असर गर्छ ।’
गुभाजू भन्छन्, ‘हामीले चिनेजानेका क्लबमा मात्रै सो गर्छाैँ । पैसा थोरै छ, घाँटी सुकाएर १२ बजेसम्म गाउनुपर्छ । दुई घन्टा मात्रै सो गर्छाैँ ।’ उनी अहिलेसम्म काम पाइरहको बताउँछन् । महामारीले गर्दा पहिलेको जस्तो पारिश्रमिक नभएको उनी बताउँछन् । उनी फ्युजन मन्त्रले हप्तामा दुई दिन मात्रै सो गर्ने गरेको बताउँछन् । उनले एक सो गरेको १० देखि १५ हजार रुपैयाँसम्म लिने गरेको बताए ।