खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ मा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्यांकन समितिले ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो।
प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई उपन्यासका प्रमुख शक्ति मानिएको छ। व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै ‘सलह’ले नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्नलाई प्रभावशाली रूपमा उठाएको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई प्रदान गर्ने निर्णय भएको छ। पाँच दशकदेखि नेपाली साहित्यमा साधनारत धरावासी ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक हुन्। उनले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचाका माध्यमबाट प्रस्तुत गर्दै आएका छन्।
त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्।
‘यदुनाथ खनाल : जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीति : एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्। संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्य गरेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन्।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ। पुरस्कारसम्बन्धी निर्णय प्रतिष्ठानले ०८३ असोज १ गते सार्वजनिक गरेको हो।