मानवनिर्मित प्राकृतिक विपत्तीले मन दुखाएकै छ । यसैबिच अविनाश विक्रम शाहद्वारा लिखित/निर्देशित फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ हेरियो । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ज्युरी अवार्ड जितेर इतिहास रचेको यो फिल्म हेरेपछि मनमा अनेक तर्कना उठे ।
जीवन्त अभिनय
यो फिल्म यौनिक तथा लैंगिक अल्पसंख्यकहरूमध्ये किन्नर अथवा तेस्रो लिंगी समुदायको जीवन संघर्षमा आधारित छ । मुख्य पात्र पुष्पा लामासहित सबै कलाकारको अभिनयमा खोट लगाउने कुनै ठाउँ देखिन्न । यस्तो लाग्छ, उनीहरूले अभिनय गरिरहेका छैनन्, आफ्नो दैनिक जीवनमा संघर्षरत छन्, हामी सिसिटिभीको फुटेज हेरिरहेका छौँ ।
अन्य फिल्म हेर्दा पात्रहरूप्रति कतै सहानुभूति, कतै समानभूति महसुस हुन्छ । दुवै महसुस नगराउने झल्ला फिल्म पनि छ्याप्छ्याप्ती छन् नै । तर, यो फिल्मले सहानुभूति÷समानुभूतिभन्दा पर आफू नै त्यो हिंसात्मक सामाजिक संरचनाको हिस्सा भएको असहज अनुभूति गराउँछ । उनीहरूलाई बाँच्न नदिने तमासेहरूको भिडमा आफू पनि कतै उभिरहेको त छैन भन्ने महसुस गराउँछ । सायद पुष्पासहित उही समुदायका कलाकारहरूले अथक मिहिनेत नगरेको भए यो फिल्म यति राम्रो बन्ने थिएन ।
सामाजिक दायित्वको सुन्दर उदाहरण
नेपाली कला जगत्मा उत्पीडनमा पारिएका समूहको कथाभन्दा रोचक पक्ष खोतल्ने अनि आत्मसम्मानको धज्जी उडाउने बानी छ । यो महामारीबाट निर्देशक यस फिल्ममा चाहिँ बचेका छन् । यसको अन्तर्यको कारण कलालाई हेर्ने दृष्टिकोण नै हो । श्रष्टाको सामाजिक दायित्वबारे कला जगत्मा मनलाग्दी विश्लेषण छ ।
माइतीघरमा प्लेकार्ड बोक्दैमा, सामाजिक सञ्जालमा ‘आइएम विथ यु’ भन्दैमा अनि कमाएको सम्पूर्ण पैसा स्वयं सीमान्तहरूलाई बाँडे पनि सामाजिक दायित्व पूरा हुँदैन । यो विषय दानदक्षिणासँग होइन, श्रष्टाको दर्शनसँग सम्बन्धित छ । जब तपाईँ कला कलाका लागि ठान्नुहुन्छ, नसा काटेर रगतै चढाए पनि सामाजिक दायित्व पूरा हुँदैन । कला कलाका लागि भन्ने दर्शन अघाएकाहरूको दर्शन हो ।
दिमागमा बोक्ने अघाएकाहरूको दर्शन, अनि रचना गर्ने भोकाएकाहरूको । कसरी मिल्छ ? कला जीवनका लागि, समाजका लागि भन्ने दर्शन भोकाहरूको हो । त्यसैले कलाको यो आधारभूत पक्षधरताबाटै बहस थाल्नुपर्छ ।कलाको पक्षधरताबारे बुझ्न ‘एलिफेन्ट इन दी फग’ एउटा गज्जबको स्कुल हो । निर्देशक शाहले यस फिल्ममा चाहिँ किन्नर समुदायको न महिनामन्डन गरेका छन्, न आत्मसम्मान गिराएका छन् ।
(यस फिल्ममा किनभने उनका अन्य पटकथामाथि अलग्गै छलफल आवश्यक छ ।) शाहले उनीहरूको सपना देखाएका छन्, संघर्ष देखाएका छन्, आत्मसम्मान देखाएका छन्, समाजमा किन्नरहरूको महत्वपूर्ण भूमिका देखाएका छन्, अनि देखाएका छन् उनीहरूको मानवीय कमजोरी पनि । यिनै आयामहरूले कला जीवनका लागि बनेको छ । कला कलाका लागि ठान्ने निर्देशकले यो सिनेमाको पहिलो दृश्य सन्ध्याकालीन रत्नपार्कबाट सुरु गर्थे ।
सेटअपमा निर्देशक शाहले किन्नर समुदाय समाजको ‘फाल्टो’ समुदाय होइनन्, समाज निर्माणमा उनीहरूको पारम्परिक ज्ञानको ठुलो महत्व छ भन्ने पक्ष सुन्दर तरिकाले देखाएका छन् । प्रहरी इन्स्पेक्टरसमेत किन्नरहरूसँग सन्तान प्राप्तिको उपाय खोज्दै पुग्छन् । अन्य नेपाली फिल्ममेकरहरू हमेसा यहीँ चुक्छन् । उत्पीडित समुदायको कथा ल्याउँछन्, तर उनीहरूको समाज निर्माणमा के कति योगदान छ भन्ने पूरै छुटाउँछन् । त्यसकारण, यो फिल्म श्रष्टाको सामाजिक दायित्व बुझ्न हेर्नैपर्ने सुन्दर कृति हो ।
फिल्म झुर लाग्यो ?
महिनाको दुई–चारवटा पुस्तक पढेपछि, कुनै विषयमा डिग्रीको सर्टिफिकेट लिएपछि हामीलाई लाग्छ, म समाज बुझेको मान्छे हुँ, म विश्लेषण, अध्येता, अनुसन्धाता हुँ । तर, यो फिल्म हेरेपछि लाग्छ, हामीले समाजलाई एकछेउ पनि बुझ्न सकेका रहेनछौँ । फिल्म हेरेर निस्किएपछि समाज अध्ययनको दायरा साह्रै साँघुरो महसुस गर्नेछौँ । सामाजिक विविधताप्रति हाम्रो छिपछिपे ज्ञान यो फिल्मले उदांगो पारिदिन्छ । भागदौडको जिन्दगीमा अभ्यस्त हुँदै गएको हामीलाई पिरती, अप्सराहरूले सोधिरहेझैँ लाग्छ, एकपटक आफैँतिर फर्केर हेर । तिमीभित्रको मानवता खिइँदै गइरहेको त छैन ?
सामाजिक रुढीलाई जीवनदर्शन ठान्नेहरू समाजमा अझै कति छन् कति । कतिपयलाई लाग्छ, यौनिक तथा लैंगिक अल्पसंख्यकहरू ‘मानसिक सन्तुलन’ गुमाएकाहरू हुन् । अझै केहीलाई लाग्छ, यिनीहरू ‘देवताबाट श्रापित’ हुन् । प्रकृतिको सुन्दर विविधता स्वीकार नगर्ने पुरातन अडबांगेहरूलाई यो फिल्म महा झुर लाग्न सक्छ । यदी तपाईँलाई पनि यो फिल्म असाध्यै झुर लाग्यो भने सम्झिनुहोस्, तपाईँले आफूलाई मान्छे ठानेर गल्ती गरिरहनु भएको छ । यो फिल्म त हामीभित्रको मान्छे जाँच्ने परीक्षक हो ।
बलियो पटकथा
पटकथाकार र उपन्यास लेख्नेहरूले झन् हेर्नैपर्ने फिल्म बनेको छ यो । ओपनिङ सिन र इन्डिङ सिनको सही संयोजन, सेटअप, कन्फ्रन्टेसन, रेजुलेसनको सही सन्तुलन, मुख्य पात्रको ड्रिम, गोल, वान्ट, निड, अफ्ट्रागल र स्ट्रगलको सही प्रस्तुतीकरणले सिनेमा भव्य बनेको छ । थ्री एक्ट स्ट्रक्चरमा कसिलो गरी बुनिएको यो फिल्मलाई क्यारेक्टर ड्रिभन फिल्म मान्न सकिन्छ । किनकि मुख्य पात्रको हरेक निर्णयले कथा अघि बढ्छ । पिरतीको क्यारेक्टर आर्क ‘पोजेटिभ चेन्ज आर्क’ हो ।
फिल्ममा पोयटिक सिनहरू प्रशस्त छन् । फूल र पानीको बिम्ब गज्जबकै छ । त्योभन्दा गज्जब पिरतीले विशालको ढुकढुकी सुनेको सिन लाग्यो । छोरी खोज्दै जाने क्रममा पिरती अप्सराको घर पुग्छिन् । अप्सरा विशाल बनिसकेकी हुन्छे । त्यो घरमा पिरतीमाथि अपमान गरिन्छ । त्यसवेला पिरतीले अप्सराको ढुकढुकी जबर्जस्ती सुन्छे । यो सबैभन्दा पोयटिक सिन लाग्यो । यसमा पिरतीले केवल विशालकाे ढुकढुकी सुनिरहेकी छैनन्, आफूलाई सभ्य दाबी गर्ने सिंगै समाजको ढुकढुकी उनले सुनिरहेकी छिन् ।
फिल्ममा अर्को सबैभन्दा बलियो पक्ष कन्फ्लिक्टको सुव्यवस्थित प्रस्तुतीकरण हो । ढोलक मास्टरसँग पिरतीको प्रेमसम्बन्ध इन्टरनल कन्फ्लिक्टको सुन्दर उदाहरण हो । त्यसपछि छोरीहरूसँगको कन्फ्लिक्ट, आफ्नै किन्नर समुदायसँगको कन्फ्लिक्ट, बाहिरी समाजसँगको कन्फ्लिक्ट, त्यसपछि राज्यसँगको कन्फ्लिक्ट । हिउँपहिरो गएजसरी यी आन्तरिक र बाह्य द्वन्द्व क्रमशः पिरतीको जीवनमा ठोकिन आइपुग्छन् र समस्याले भयावह रूप लिँदै जान्छ । ती समस्या र अवरोधहरू पन्छाउँदै पिरतीले गोलप्राप्तिका लागि गरेको अथक संघर्ष अन्त्यन्तै सुन्दर छ ।
केही प्रश्न
फिल्ममा भव्य मेटाफरको रूपमा हात्ती प्रयोग भएको छ । हात्तीलाई दर्शकले आ–आफ्नो गच्छेअनुसार आ–आफ्नै तरिकाले अथ्र्याइरहेका छन् । यो सुन्दर पक्ष हो । तर, व्यावहारिक रूपमा हात्तीको सेटिङबारे पनि चर्चा गर्नुपर्छ । कथाको लोकेसन वीरगन्ज ठोरीआसपास देखिन्छ । नेपालमा हात्तीआतंक भन्नेबित्तिकै पूर्वी सिमाना सम्झिन्छौँ । वीरगन्ज ठोरीतिरको हात्तीआतंक समाजमा त्यति परिचित देखिन्न । अन्तर्राष्ट्रिय दर्शकका लागि फरक नपर्ला ।
नेपाली दर्शकका लागि भने अलि नमिल्दो लाग्न सक्छ । फिल्ममा एकजना पात्रले मैथली भाषा बोल्छिन्, तर वीरगन्ज त भोजपुरी बोल्ने ठाउँ हो । मैथली बोल्ने पात्र त्यहाँ पुगेको पनि हुन सक्छ । फिल्ममा एकजना पनि किन्नर इतरका मानिसहरू सकारात्मक भेटिँदैन । यसले किन्नरहरूका लागि सिंगै समाज बैरीजस्तो देखिन्छ । किन्नरको मर्म बुझ्ने बिउजस्तो कोही पात्र भइदिएको भए सन्तुलन मिल्ने थियो कि ।
फेरि हात्तीकै मेटाफरतिर जाऔँ । अन्तिममा पिरतीलगायत पात्रहरूले हात्तीहरू लिएर मानवबस्तीतिर आउँछन् । सामाजिक बारबन्देज भत्काउँछन् । तिनीहरूलाई समाजले अस्वीकार गरेका थिए । अब तिनीहरू आफ्नो अस्तित्व दाबी गर्न आउँदै छन् । हामीभित्रको मानवता जाँच्न आउँदै छन् ।
सभ्यताको सुन्दर क्यानभ्यासमा हामीले एकलकाँटे रंग पोतेर विरूप बनायौँ । अब यो क्यानभासलाई सुन्दर बनाउन उनीहरू अर्को रंग लिएर आउँदै छन् । यो दृश्यले पूरै फिल्मलाई अर्को तहमा पुर्याउँछ । दर्शकले ‘कर्थासिस’ महसुस गर्छन् । कलामार्फत समाजका असंगतिमाथि मुक्का हान्ने यात्रा अझै जारी रहोस् । तिनीहरू आऊन्, संवेदना लिलामी गरेर मस्त घुरिरहेको यो चिसो समाजमा ज्वालामुखी बालून् ।