पहिलोपटक युरोप भ्रमण गर्दै मंगोलियन हार्ट

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हार्ट आफ्नो तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कने भएको छ। फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको ‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’अन्तर्गत ब्यान्डले युरोपका चार देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ।

समूहको आठ सदस्यीय टोली यही सेप्टेम्बर २४ तारिखमा नेपालबाट युरोप यात्राका लागि प्रस्थान गर्ने तयारीमा छ। टोलीमा गायक राजु लामा, ब्यान्ड म्यानेजर तथा गितारिस्ट बोबी लामा, ड्रमर सन्तोष थापामगर, बास गितारिस्ट पवन कपाली, लिड गितारिस्ट भूपेन्द्र बज्राचार्य, मादल तथा तालवादक बाबुराजा महर्जन, बाँसुरीवादक विनय महर्जन तथा साउन्ड इन्जिनियर निरेन्द्र रञ्जित छन्।

कार्यक्रम तालिकाअनुसार ब्यान्डले सेप्टेम्बर २६ मा डेनमार्क, अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा लाइभ प्रस्तुति दिनेछ। यो युरोप भ्रमणलाई सांगीतिक यात्रासँगै सामाजिक सेवासँग पनि जोडिएको छ।
रसुवा बाढीका कारण प्रभावित भएका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सांगीतिक यात्राबाट प्राप्त हुने रकमको केही हिस्सा राहत तथा सहयोगका लागि छुट्याउने निर्णय गरिएको गायक राजु लामाले बताए। 

ब्यान्ड म्यानेजर बोबी लामाले सामाजिक उद्देश्यसमेत जोडिएको यो यात्रामा युरोपमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीलाई सहभागिताका लागि आग्रह गरेका छन्।

सुझावित समाचार