बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

धेरैले सोध्छन्, बजारले खोजेजस्तो फिल्म किन बनाउनुहुन्न ? मेरो उत्तर सधैँ एउटै हुन्छ, ‘म फिल्म बनाउन आएको हुँ, सफल फिल्मको नक्कल गर्न आएको होइन ।’

मैले ‘मञ्जरी’ बनाएँ, त्यसपछि ‘गाजा बाजा’ बनाएँ । ती मेरा आफ्नै खोज थिए । एउटा फिल्म सकिएपछि अर्को फिल्म बनाउँदा पनि मैले कहिल्यै ‘अब बजारमा के चलिरहेको छ’ भनेर सुरु गरिनँ । बरु ‘मभित्र अहिले कुन कथा जन्मिएको छ ?’ भन्ने प्रश्नबाट सुरु गरेँ । मेरा प्रत्येक फिल्म एउटा प्रयास हुन् ।

आज नेपाली चलचित्रलाई हेर्दा दुई फरक धार देख्छु । एउटा धार छ, जहाँ केही फिल्ममेकरहरू साँच्चै सिनेमालाई कलाको रूपमा लिन्छन् । उनीहरू राष्ट्रिय वा अन्तर्राष्ट्रिय सहकार्य खोज्छन्, फेस्टिभल फन्डबाट स्रोत जुटाउँछन्, दक्ष प्राविधिकसँग काम गर्छन् । आफ्नो कथालाई विश्वस्तरमा पुर्याउने प्रयत्न गर्छन् । उनीहरूको उद्देश्य बजारमा फिल्म बेच्नु मात्र होइन, राम्रो फिल्म निर्माण गर्नु हो ।

अर्कोतर्फ, एउटा यस्तो प्रवृत्ति पनि छ, जहाँ चलचित्रलाई लगानी र प्रतिफलको हिसाबले मात्र हेरिन्छ । म निर्मातालाई दोष दिन चाहन्नँ, किनकि लगानी फिर्ता हुनु आवश्यक छ । तर, समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ पैसा नै पहिलो उद्देश्य बन्छ र सिनेमा दोस्रो ।

एउटा कलाकारले मूर्ति बनाउँछ । उसलाई पनि परिवार पाल्नुपर्छ, जीवन चलाउनुपर्छ । तर, यदि मूर्ति बनाउने वेला उसको सम्पूर्ण ध्यान ‘यो कति पैसामा बिक्री हुन्छ ?’ भन्नेमा मात्र रह्यो भने त्यो मूर्तिमा आत्मा रहँदैन । बरु उसले ‘म आजसम्मकै उत्कृष्ट मूर्ति बनाउँछु’ भन्ने सोच राख्यो भने, त्यसमा उसको ऊर्जा, समय र आत्मा मिसिन्छ । त्यसपछि त्यो सिर्जना आफैँले आफ्नो मूल्य बनाउँछ । कला जहिल्यै उत्कृष्ट बन्ने आकांक्षाबाट सुरु हुन्छ । पैसा त्यसको पछाडि आउँछ ।

यही कुरा खेलकुदमा पनि देखिन्छ । संसारका महान् खेलाडीहरू पैसाको पछि दौडिएर महान बनेका होइनन् । उनीहरू आफ्नो खेलको साधनामा डुबेका थिए । वर्षौँसम्म एउटै कामलाई निरन्तर निखार्दै गए । उनीहरूले आफ्नो सम्पूर्ण ऊर्जा उत्कृष्ट खेल्नमा लगाए । त्यसपछि सफलता, सम्मान र सम्पत्ति आफैँ आए ।

फिल्म पनि त्यही हो । यदि हाम्रो पहिलो चिन्ता ‘कसरी धेरै कमाउने ?’ भन्ने भयो भने हामीले सायद व्यापार गर्न सकौँला, तर राम्रो सिनेमा बनाउन सक्दैनौँ । हाम्रो पहिलो चिन्ता ‘कसरी राम्रो सिनेमा बनाउने ?’ भन्ने भयो भने त्यसको मूल्य कुनै न कुनै दिन दर्शकले अवश्य बुझ्छ ।

नेपाली चलचित्रले सबैभन्दा पहिले आफ्नो संवेदनासँग जोडिन सिक्नुपर्छ । हामीले आफ्नै समाज, आफ्नै समय र आफ्नै मानिसको कथा इमानदारीका साथ भन्न सक्नुपर्छ । त्यसपछि मात्रै ‘क्राफ्ट’को कुरा आउँछ । तर ‘क्राफ्ट’ पनि आफैँमा एउटा साधना हो । यसलाई अभ्यास गर्नुपर्छ । केवल प्रतिभाले मात्र पुग्दैन, निरन्तर अध्ययन पनि चाहिन्छ ।

मैले आजसम्म बनाएका फिल्महरू पूर्ण छन् भन्ने दाबी म कहिल्यै गर्दिनँ । कतिपय ठाउँमा कथा राम्रो थियो, तर मैले त्यसलाई राम्रोसँग भन्न सकिनँ । कतिपय ठाउँमा प्रस्तुति राम्रो भयो, तर कथाको छनोट कमजोर भयो । यी सबै कमजोरीहरू स्वीकार गर्न मलाई कुनै संकोच छैन ।

बरु समयसँगै एउटा अनुभूति झन् बलियो हुँदै गएको छ–सायद मैले सिक्न ढिला गरेँ ।

मेरो फिल्मको स्कुलिङ त्यति बलियो थिएन । मैले चाहेजस्तो वातावरण पाइनँ । अध्ययन गर्ने अवसर पनि सीमित थियो । आज विश्व सिनेमालाई जति बुझ्दै जान्छु, त्यति नै लाग्छ– यदि सुरुबाटै यस्ता अनुभव र अध्ययनको वातावरण पाएको भए, म अझ फरक सिनेमा बनाउन सक्थेँ । तर, यो पछुतो होइन । यो अझै सिकिरहनुपर्ने प्रेरणा हो । आज पनि म आफूलाई विद्यार्थी नै ठान्छु ।

हामी प्रायः सिनेमाको कथालाई नै सबैभन्दा ठुलो कुरा मान्छौँ । तर, कथा मात्र पर्याप्त हुँदैन । कथा कसरी भनियो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । एउटै भावना लाखौँ मानिसले बोकिरहेका हुन्छन् । प्रेम, पीडा, एक्लोपन, विद्रोह– यी सबै साझा अनुभूति हुन् । तर, किन एउटै भावनाले कसैको सिर्जना कालजयी बन्छ र अर्कोको साधारण ? यसको उत्तर ‘क्राफ्ट’मा छ । म बारम्बार भन्छु–‘क्राफ्ट’को कुनै विकल्प छैन । 

शब्द नयाँ हुनु आवश्यक छैन । भावनासमेत नयाँ नहुन सक्छ । तर, त्यसलाई व्यक्त गर्ने शैली, त्यसलाई दृश्यमा बदल्ने तरिका, त्यसलाई अनुभूतिमा रूपान्तरण गर्ने क्षमता नै कलाकारको पहिचान हो ।

एउटा फिल्मको जीवन केवल कथाले निर्धारण गर्दैन । त्यसको लय, त्यसको गति, त्यसको रङ, त्यसको ध्वनि, त्यसको मौनता– यी सबैले मिलेर सिनेमाको आत्मा बनाउँछ । 

साधनाको कुनै छोटो बाटो छैन । राम्रो फिल्म बनाउनुअघि राम्रो फिल्ममेकर बन्नुपर्छ । त्यो बन्न वर्षौं लाग्छ । अध्ययन चाहिन्छ । हामीमध्ये धेरैले सिनेमाको गहिराइभन्दा सफलता छिटो खोजिरहेका छौँ । हामीले प्रक्रियाभन्दा परिणामलाई बढी महत्व दिएका छौँ । तर, कला त्यस्तो ठाउँ होइन, जहाँ सर्टकटले काम गर्छ ।
चलचित्र एउटा जीवित कला हो । यसले हामीबाट समय माग्छ, धैर्य माग्छ र सबैभन्दा बढी इमानदारिता माग्छ । यदि हामीले त्यो इमानदारी दिन सकेनौँ भने क्यामेरा जति महँगो भए पनि, कलाकार जति चर्चित भए पनि र बजेट जति ठुलो भए पनि त्यसले उत्कृष्ट सिनेमा जन्माउन सक्दैन ।

‘गाँजा बाजा’ बनाउँदा आफैँसँगको संघर्ष पनि थियो । आज फर्केर हेर्दा लाग्छ, मेरो सबैभन्दा ठुलो सीमितता आर्थिक थियो । फिल्म बनाउन पैसा चाहिन्छ । तर, पैसा जुटाउने संघर्ष आफैँमा अर्को फिल्मजस्तै हुन्छ । जब सिर्जनाको बिचमा बारम्बार पैसाको चिन्ता आउँछ, त्यसले तपाईँको ध्यान भंग गर्छ । तपाईँ कथाभित्र हुनुपर्ने वेला बैंक, ऋण, लगानीकर्ता र खर्चको हिसाबमा अल्झिन थाल्नुहुन्छ । म पनि त्यसबाट मुक्त थिइनँ ।

एउटा फिल्म बन्नु भनेको क्यामेरा, कलाकार र प्रविधि जुटाउनु मात्र होइन । ती सबै भएपछि पनि उत्कृष्ट फिल्म बन्दैन । त्यसका लागि सबैभन्दा आवश्यक कुरा फिल्ममेकरको दृष्टि हो । त्यो दृष्टि वर्षौँको साधनाबाट आउँछ । 

क्राफ्ट भनेको प्रविधि मात्र होइन । मैले जीवनभर के–के देखेँ, के–के पढेँ, कस्ता फिल्महरू हेरेँ, कस्तो वातावरणमा हुर्किएँ, मैले संसारलाई कसरी बुझेँ– यी सबै कुरा क्राफ्टभित्र मिसिन्छन् । त्यसैले एउटै क्यामेरा दुईजनाको हातमा परे एउटै फिल्म बन्दैन ।

आज हरेकको हातमा राम्रो मोबाइल छ । त्यसले उत्कृष्ट भिडियो खिच्न सक्छ । त्यसबाट फिल्मसमेत बनाउन सकिन्छ । तर, प्रश्न मोबाइलको होइन, त्यसलाई समात्ने चेतनाको हो । एउटै औजारले कसैले सामान्य भिडियो बनाउँछ, कसैले उत्कृष्ट चलचित्र । फरक उपकरणले होइन, दृष्टिले बनाउँछ ।

हामी औजार खोजिरहेका हुन्छौँ, जबकि खोजिनुपर्ने चेतना हो । हामी राम्रो क्यामेरा किन्नेबित्तिकै राम्रो फिल्म बन्छ भन्ने भ्रममा छौँ । तर, क्यामेरा त एउटा माध्यम मात्र हो । त्यो माध्यमभित्र आफ्नो दृष्टि, आफ्नो संवेदना र आफ्नो अध्ययन भर्न सकिएन भने त्यो केवल महँगो उपकरण भएर रहन्छ । फिल्म बनाउनु भनेको क्यामेरा चलाउनु मात्र होइन, संसारलाई हेर्ने एउटा नयाँ तरिका विकास गर्नु हो ।

यही कारणले म चेतना भन्ने शब्दलाई धेरै महत्व दिन्छु । चेतनाविना ज्ञान जन्मिँदैन । ज्ञान भनेको किताब पढेर मात्र आउने कुरा होइन । निरन्तर अभ्यास, असफलता, प्रश्न र साधनाबाट बिस्तारै बन्ने अनुभव हो ।

आज नेपाली फिल्म उद्योगमा अन्योल धेरै देखिन्छ । हामीसँग प्रतिभाको कमी छैन । कथा पनि छन् । कलाकार पनि छन् । प्रविधि पनि पहिलेभन्दा धेरै राम्रो छ । तर, हाम्रो सोच अझै धेरै ठाउँमा स्पष्ट छैन ।

हामी किन फिल्म बनाउँदै छौँ ? हामी के भन्न खोजिरहेका छौँ ? हाम्रो जिम्मेवारी के हो ? हाम्रो साधना कता छ ? यी प्रश्नहरूको उत्तर नखोजी केवल फिल्म बनाइरह्यौँ भने सायद केही समय व्यापार गर्न सकिएला । तर, त्यसले सिनेमाको इतिहास भने लेख्दैन ।

प्रत्येक फिल्म बनाउनु भनेको एउटा नयाँ भाषा सिक्नु हो । यदि हरेक फिल्मले अघिल्लो फिल्मकै भाषा दोहोर्याइरह्यो भने कलाकारको यात्रा त्यहीँ रोकिन्छ । सिनेमा भनेको पुनरावृत्ति होइन, निरन्तर खोज हो ।

बजार र सिनेमा
केही समयअघि एकजना फिल्ममेकर साथीसँग भेट भएको थियो । उनको फिल्म व्यावसायिक रूपमा सफल पनि यो । उनले भेट हुँदा भनेको एउटा वाक्यले धेरै बेरसम्म सोच्न बाध्य बनायो । उनको भनाइ थियो, ‘दर्शकलाई मूर्ख बनाउन सक्नुपर्छ ।’

म अचम्ममा परिनँ । बरु मैले त्यसलाई एउटा इमानदार स्वीकारोक्ति ठानेँ । किनकि कम्तीमा उनीहरू आफ्नो उद्देश्यमा स्पष्ट थिए । उनीहरू कला, समाज वा सिनेमाको विकासका लागि फिल्म बनाइरहेका छैनन् भन्ने कुरा खुलेर स्वीकार गर्छन् । उनीहरूको उद्देश्य पैसा कमाउनु थियो, र त्यसका लागि दर्शकको मनोविज्ञानसँग खेल्न तयार छन् । त्यो स्पष्टता आफ्नो ठाउँमा इमानदार हुन सक्छ । तर, त्यही सोचले एउटा उद्योगलाई कहाँ पुर्याउँछ भन्ने प्रश्न भने अझै बाँकी रहन्छ ।

यदि मेरो सम्पूर्ण ध्यान दर्शकलाई कसरी फेरि झुक्याउने भन्नेमा केन्द्रित भयो भने म कहिल्यै कलाकार बन्न सक्दिनँ । म व्यापारी बन्न सक्छु, बजार बुझ्ने मान्छे बन्न सक्छु, तर सिनेमाको साधक बन्न सक्दिनँ । मेरो चिन्ता त्यहीँबाट सुरु हुन्छ ।

चलचित्रले केवल पैसा कमाउने कि समाजको चेतना पनि विस्तार गर्ने ? नयाँ सम्भावना पनि खोज्ने ? नयाँ भाषा पनि खोज्ने ? नयाँ संवेदना पनि दिने ? यो प्रश्न हरेक फिल्ममेकरले आफैँलाई सोध्नुपर्छ ।

सिनेमाका लागि बजार आवश्यक छ । दर्शक पनि आवश्यक छन् । लगानी पनि आवश्यक छ । तर, बजारले मात्रै कलाकारको दिशा तय गर्न थाल्यो भने सिनेमाले विस्तारै आफ्नो आत्मा गुमाउँदै जान्छ ।

नेपालमा हामी बारम्बार यही चक्रमा फसिरहेका छौँ । एउटा फिल्म सफल हुन्छ । त्यसपछि बजारले त्यो सफलताको कारण खोज्दैन, त्यसको बाहिरी रूपको नक्कल गर्न थाल्छ । कुनै फिल्मले ग्रामीण परिवेशबाट सफलता पायो भने त्यसपछि गाउँ नै गाउँका कथा आउँछन् । कुनै फिल्मले प्रेमकथाबाट कमायो भने प्रेमकथाकै बाढी आउँछ । कुनै फिल्मले सामाजिक विभेदको विषय उठाएर सफलता पायो भने भोलिपल्टदेखि त्यही विषयका दर्जनौँ फिल्म घोषणा हुन थाल्छन् । 

पछिल्ला वर्षहरूमा यही प्रवृत्ति धेरै देखेको छु । एउटा फिल्म सफल हुनेबित्तिकै निर्माता, वितरक, लगानीकर्ता र बजार सबैको ध्यान त्यतैतिर जान्छ । उनीहरू सोच्छन्, अब पैसा यहीँ छ । अब यही किसिमको फिल्म बनाउनुपर्छ । त्यसपछि के हुन्छ ? निर्देशकले आफूभित्र जन्मिरहेको कथा भन्न पाउँदैन । उसमाथि अर्को सफल फिल्म दोहोर्याउने दबाब आउँछ । उदाहरणका लागि, ‘पूर्णबहादुरको सारंगी’ सफल भयो । त्यसले एउटा ठुलो सम्भावना पनि देखायो । तर, बजारले त्यसबाट अर्को निष्कर्ष निकाल्यो, ‘अब यस्तै फिल्म बनाऔँ । यस्तै पात्र राख । यस्तै परिवेश बनाऊ । यस्तै भावुकता बेच ।’ त्यहीँबाट समस्या सुरु हुन्छ । एउटा कलाकारले सफल फिल्मको आत्मा बुझ्नुपर्थ्यो । हामीले भने त्यसको आवरण मात्रै समात्यौँ ।

एउटा बाटो बजारले देखाएको हुन्छ । अर्को बाटो उसको आफ्नै सिर्जनाले देखाएको हुन्छ । यी दुईबिचको संघर्ष नै आज नेपाली चलचित्र उद्योगको सबैभन्दा ठुलो संघर्ष हो । अझ दुःख लाग्ने कुरा के छ भने, कहिलेकाहीँ फिल्ममेकरले पनि बजारकै आवाजलाई आफ्नो आवाज ठान्न थाल्छ । उसलाई लाग्छ– दर्शकले यही चाहन्छन् । तर, म सधैँ एउटा प्रश्न सोध्छु– के हामीले दर्शकलाई कहिल्यै अर्को सम्भावना दिएका छौँ ?

यदि हामीले वर्षौँसम्म एउटै स्वाद मात्रै खुवायौँ । दर्शकको रुचि बिस्तार गर्ने जिम्मेवारी पनि हाम्रो हो । हामीले नयाँ ढोका खोल्नुपर्छ । नयाँ संसार देखाउनुपर्छ । नयाँ प्रश्न उठाउनुपर्छ । 

मलाई लाग्छ, नेपाली सिनेमाको भविष्य सुरक्षित गर्ने हो भने हामी सफल फिल्मको नक्कल गर्ने संस्कृतिबाट बाहिर निस्कनैपर्छ । हरेक नयाँ फिल्मले नयाँ जोखिम लिनुपर्छ । हरेक निर्देशकले आफूअघिको सफलताको प्रतिलिपि होइन, आफ्नै भोलिको खोज गर्नुपर्छ । किनकि सिनेमा बजारको उत्पादन मात्रै होइन । 

सिनेमा समाजले आफैँलाई हेर्ने ऐना पनि हो । यदि त्यो ऐनामा हामीले बारम्बार एउटै अनुहार मात्रै देखाइरह्यौँ भने एक दिन हामी आफैँ आफ्नो वास्तविक अनुहार बिर्सिनेछौँ ।

प्रस्तुति : पवन बराइली

See More On

सुझावित समाचार