लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

भक्तपुरको दुवाकोटमा रहेको ऋतम्भरा पाठशालाले लोपोन्मुख नृत्य संरक्षण अभियानलाई नियमित पाठ्यक्रमकै रूपमा अघि बढाएको छ ।

यसबारे कक्षामा पढाउने मात्र होइन, यो विद्यालयले अतिरिक्त शैक्षिक क्रियाकलापमा पनि लोपोन्मुख नृत्यलाई महत्त्वका साथ प्राथमिकता दिने गरेको हो । जसबाट प्रशिक्षित बनेका यहाँका विद्यार्थीले काठमाडौं उपत्यकाभित्र हुने विभिन्न प्रतियोगितामा देखाउने नृत्यका शैलीहरू प्रायः भिन्न खालका हुन्छन् ।

चाँगुनारायण नगरपालिकाको कार्यालयले हालै आयोजना गरेको नगरस्तरीय नृत्य प्रतियोगितामा पनि उनीहरूले प्रदर्शन गरेको परम्परागत मुजुर नृत्यले चर्चा पायो । प्रतियोगितामा सहभागी विद्यार्थी जस्टिना क्षेत्री, किया थापा, प्रयुशा खतिवडा, मुस्कान श्रेष्ठ, रेश्मा राई, प्रियन्सा धामी, सुनन्सा न्यौपाने र अंकिता तामाङले स्टेज चढेर मुजुरकै चालमा देखाएको नृत्यले चर्चा पाएको हो ।

उनीहरूले रातो ब्लाउज, सेतो कुर्ता, पटुका र मुजुरको प्वाँखसहितको परम्परागत पहिरनमा सजिएर हातमा रंगीन लठ्ठीसहित म्युजिकको तालमा नृत्य देखाएका थिए । शिक्षक कमला भण्डारी बरालका अनुसार संस्कारसहितको शिक्षा दिँदै आएको ऋतम्भराले विगतमा यस्तै परम्परागत अन्य नृत्यको प्रस्तुतिपछि यसपटक प्रकृति, सौन्दर्य र नेपाली लोकसंस्कृतिको संरक्षण गर्न परम्परा झल्किने गरी मुजुर नाच देखाएको हो ।

यसले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र व्यक्तित्व विकास गर्ने मात्र नभएर लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । छनाेट चरणमा सहभागी जम्मा ३९ विद्यालयमध्ये ऋतम्भराले प्रस्तुत गरेको मुजुर नृत्य देखेर दर्शकदीर्घामा रहेको चाँगुनाराण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल, वरिष्ठ विद्यालय निरीक्षण दिनेश अर्याल, विद्यालय निरीक्षक सञ्जना साप्कोटालगायत सहभागीहरूले प्रशंसा गरेका थिए ।

३९ विद्यालयबिचको प्रतिस्पर्धाका क्रममा ऋतम्भराको मुजुर नृत्यले हराउँदै गएको संस्कृति संरक्षणमा जोड दिएको भन्दै अतिथिहरूले धन्यवाद दिएका थिए ।

सुझावित समाचार