स्मार्टफोनले बर्बाद पार्दै छ बालापन

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

बालबालिकाहरूले अनलाइनमा अनावश्यक तस्बिर सेयर गर्ने विषयको बहसमा एउटा ठुलो प्रश्न छुटेको छः उनीहरूसँग किन स्मार्टफोन छन् ? त्यो मुख्य प्रश्नलाई सम्बोधन गर्नुको सट्टा वा १६ वर्ष मुनिका बालबालिकाहरूको लागि सामाजिक सञ्जाल पहुँच प्रतिबन्धित गर्ने अष्ट्रेलियाको नेतृत्वलाई पछ्याउनुको सट्टा बेलायत सरकारले भने नाबालिगमाझ नग्न तस्बिर सेयर गर्न रोक लगाउने विषयमा ध्यान केन्द्रित गरिरहेको छ ।

सरकारको यो योजना बालबालिकामा मोवाईल लतको कारणभन्दा पनि उनीहरूमा देखिने लक्षणलाई समाधान गर्न खोजे जस्तो लाग्छ । यदि बालबालिकाले नियमित रूपमा पोर्नोग्राफीमा पहुँच राख्न सक्षम ग्याजेट बोकिरहेका छन् भने वास्तविक मुद्दा निश्चित रूपमा उनीहरूले के सेयर गरिरहेका छन् भन्ने होइन बरु उनीहरूले के बोकिरहेका छन् भन्ने हो ।सन् २००० को दशकको अन्त्यतिर यी नयाँ ग्याजेटले दैनिक जीवनलाई परिवर्तन गरे ।  तर, थोरै अभिभावकले दीर्घकालीन परिणाम बुझे । दुई दशकपछि यसको असर कति घातक हुँदो रहेछ भन्ने पुष्टि हुँदै छ ।

सामाजिक मनोवैज्ञानिक डा. जोनाथन हेड्टले आफ्नो २०२४ को पुस्तक ‘द एनेक्सियस जेनेरेसन’मा स्मार्टफोन र सामाजिक सञ्जालले बाल्यकाललाई मनोवैज्ञानिक रूपमा असर गरेको तर्क गरे । हामी बालबालिकाहरूको अत्यधिक संरक्षण गर्छौं र डिजिटल संसारमा उनीहरूलाई खतरनाक रूपमा उजागर गर्दैछौं भन्ने निष्कर्ष निकाल्दै उनले एउटा जटिल समस्याको सरल समाधान प्रस्तुत गरेः १४ वर्ष मुनिका बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध लगाउने ।

संसारलाई डिजिटलाइज गर्ने हतारमा हामीले कतै हाम्रा बच्चाहरूलाई वास्तविक संसारबाट अलग गरेका त छैनौँ ? । नयाँ पुस्ताले आनन्दपूर्ण जीवन बिताएको देख्न चाहन्छौँ भने हामीले उनीहरूलाई खुसी राख्नुपर्छ । १४ वर्षमुनिका बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध गर्नु रामवाण उपाय नहुन सक्छ, तर उनीहरूलाई उनीहरूको बाल्यकाल फिर्ता दिनु हाम्रोदायित्व हो ।

स्मार्टफोनको सट्टा सामान्य फोन (कल र मेसेज मात्र गर्न मिल्ने) उपलब्ध गराएर, कुनै पनि आमाबाबुले आफ्ना बच्चाहरूलाई किशोरावस्थामा नपुगुन्जेलसम्म उनीहरूको निगरानी गर्नुपर्छ । ( हेड्टल  १६ वर्षको उमेरसम्म सामाजिक सञ्जाल प्रतिबन्धको वकालत गर्छन् तर मलाई लाग्छ १४ वर्ष धेरै व्यावहारिक हुनेछ किनकी सरकारले चुरोट र मदिरामा पनि यही उमेरसमूहलाई प्रतिबन्ध लगाएको छ ) ।

स्मार्टफोन प्रयोग गर्नबाट रोक्ने प्रयासलाई प्रायः कल्पनाको रूपमा खिल्ली उडाइन्छ । यो प्रयासले अर्को पुस्तालाई डिजिटल रूपमा अलपत्र पार्ने कतिपयको तर्क छ । तर यो तर्कले ठूलो चित्रणलाई गुमाउँछ । कोडिङ र डेटा विश्लेषणलाई मेसिनहरूले आफ्नो नियन्त्रणमा लिँदै जाँदा, अन्तरव्यक्ति सीपले अन्तिम प्रतिस्पर्धात्मक लाभ प्रदान गर्न सक्छन् । एआई क्रान्तिमा बाँच्न चाहने युवाहरूले आमनेसामने अन्तरक्रिया (अन्तरव्यक्ति सञ्चार)लाई प्राथमिकता दिनुपर्नेछ । राम्रो सञ्चार अब एउटा सिप मात्र नभई करिअर जोगाउने कुञ्जी मानिनेछ ।

धेरै युवाहरू आफैँ पनि आफ्नो जीवनमा प्रभुत्व जमाउने प्रविधिप्रति बढ्दो रूपमा शंकालु देखिन्छन् । अनलाइनसँगै हुर्केको पुस्ता प्रविधिबाट छुट्न नसक्ने (कुलतका कारण) विषयमा चनाखो हुँदै गइरहेको छ । ‘स्वाइप’ गरिएका स्न्यापच्याटहरूले उनीहरूको मित्रता र सम्बन्धलाई सताउन थालेका छन् । उनीहरूमध्ये धेरैले डिजिटल डुम लुप  (टेक्नोलोजी र सामाजिक सञ्जालको कुलत)बाट बाहिर निस्कने बाटो खोज्न थालेका छन् । बाइबल बिक्रीमा भएको अस्वाभाविक वृद्धि र स्क्रिन समय सीमित गर्ने एपहरूको लोकप्रियताले पनि यसलाई पुष्टि गर्छ ।

मैले एकपटक आइटिभीको ‘दिस मर्निङ’ कार्यक्रममा भाग लिएकी थिएँ । त्यतिवेला मैले मेरा दुई छोराछोरीको स्मार्टफोन खोसेर सामान्य फोन प्रदान गरेकी थिएँ । एडजस्ट हुन सुरुमा गाहो भए पनि साताको अन्त्यसम्ममा उनीहरू दुवैलाई वर्णन गर्न एउटै शब्द काफी थियो : खुसी । अर्थात्, सामान्य फोनमा पनि उनीहरू खुसी थिए ।आइफोनको युगमा हुर्किएका मानिसहरूले अहिले पछुतो मानेको हुनुपर्छ । २००७ पछि जन्मेका जोकोहीलाई सोध्नुहोस्, (जतिवेला आइफोन लन्च भएको थियो ) र मलाई लाग्छ छ कि उनीहरूले तपाईँलाई भन्नेछन् कि उनीहरूले आफ्ना फोनरहित बाल्यकालमा हुर्किएको भए धेरै आनन्दित हुन पाउँथे । तर, मोबाइलले उनीहरूको खुसी लुटिदियो ।

आमाबाबु पनि अन्ततः स्मार्टफोनले आफ्नै जीवनमा सिर्जना गर्ने अनगिन्ती तनावबाट ब्युँझिएका छन् । यदि वयस्कहरूले निरन्तर डिजिटल व्याकुलता व्यवस्थापन गर्न संघर्ष गरिरहेका छन् भने किशोरावस्थापूर्वका बच्चाहरूको मनोदशा कस्तो होला ? उनीहरूलाई यो पनि थाहा छ कि यसले उनीहरूको अभिभावकत्वमा प्रतिकूल असर पारेको हुन सक्छ ।

पृथ्वीका हरेक आमा र बुबालाई थाहा छ कि बच्चाले उनीहरूसँग अन्तर्क्रिया  गर्न ‘मोबाइल छोड्नुहोस् न’ भनेर बिन्ती गर्दा ती अभिभावकलाई कति आत्मग्लानि होला ? ‘के तपाईँ आफ्नो फोनबाट बाहिर निस्कन सक्नुहुन्छ ?’ भन्ने वाक्यांश अहिले एक परिचित पारिवारिक उपमा बनेको छ । यो प्रश्न आमाबाबुले बच्चालाई मात्र होइन बालबालिकाले आमाबाबुलाई पनि तेस्र्याउन थालेका छन् ।

यदि शिक्षा कुराकानी वा छलफलको अंश बन्दैन भने अभिभावकहरूले आफ्ना बच्चाहरूको स्क्रिन समयलाई नियन्त्रण गर्नुको कुनै अर्थ छैन । प्राविधिक दिग्गजहरूबाट प्रेरित भएर, स्कुलहरूले डिजिटल सिकाइलाई अँगालेका छन् । तर, धेरै स्क्रिन टाइमले स्वचालित रूपमा नतिजा राम्रो ल्याउँछ भन्ने धारणालाई भने प्रमाणले चुनौती दिन थालेका छन् ।

कुनै समय कक्षाकोठामा प्रविधिको अग्रणी मानिने स्विडेनले आफ्नो बाटो उल्टाएको छ र भारी उपकरणको प्रयोगले पठन सिपमा बाधा पुर्याएको निष्कर्ष निकालेपछि अब कलम र कागजमा फर्कने पक्षमा छ । त्यसवेलादेखि सरकारले ६ वर्षमुनिका बालबालिकाहरूको लागि डिजिटल सिकाइलाई ठुलो मात्रामा रोकेको छ । प्रिस्कुलहरूमा अनिवार्य डिजिटल उपकरणको आवश्यकतालाई अन्त्य गरेको छ र छापिएका पुस्तकहरू खरिद गर्न निर्देशित गरेको छ ।

यदि स्मार्टफोन र सामाजिक सञ्जालले युवाहरूमा बढ्दो चिन्ता, ध्यान घट्ने र कमजोर मानसिक स्वास्थ्यमा योगदान पुर्याइरहेका छन् भनेर हामी स्वीकार गर्छौँ भने यसबाट समाधानको उपायबारे पनि सोच्नुपर्छ । रोजगारी, शिक्षा वा तालिममा संलग्न नभएका लगभग दस लाख ब्रिटिस बालबालिका बारेमा एलन मिलबर्नको प्रतिवेदनले बालबालिकाको कामलाई अवरोध गर्ने शारीरिक, मानसिक स्वास्थ्य अवस्था (वर्क लिमिटिङ फिजिकल एन्ड मेन्टल सिचुएसन)पछिल्लो दशकमा लगभग दोब्बर देखिएको खुलासा गरेको छ ।

यसले एउटा डरलाग्दो सत्य प्रकट गर्छ :  संसारलाई डिजिटलाइज गर्ने हतारमा, हामीले कतै हाम्रा बच्चाहरूलाई वास्तविक संसारबाट अलग गरेका त छैनौँ ? अर्को पुस्ताले आनन्दपूर्ण जीवन बिताएको देख्न चाहन्छौँ भने हामीले उनीहरूलाई खुसी राख्न मद्दत गर्नुपर्छ । १४ वर्षमुनिका बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध गर्नु रामवाण उपाय नहुन सक्छ, तर उनीहरूलाई उनीहरूको बाल्यकाल फिर्ता दिनु हामीहरूको दायित्व हो । 

(द टेलिग्राफकी एसोसिएट एडिटर  क्यामिल्ला टोमिनेको आलेखलाई ‘द टेलिग्राफ’बाट सुभाष शर्माले भावानुवाद गरेका हुन् ।) 
 

सुझावित समाचार