टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेनिस फिल्म ‘ला बोला नेग्रा’ले पिपुल्स च्वाइस अवार्ड जितेको छ। फेस्टिभलको यो प्रमुख अवार्डलाई लामो समयदेखि एकेडेमी अवार्ड (ओस्कार)का लागि महत्वपूर्ण संकेतका रूपमा परिचित छ ।
सन् २०१२ यता पिपुल्स च्वाइस अवार्ड जितेका फिल्ममध्ये एउटाबाहेक सबैले ओस्कारमा उत्कृष्ट फिल्मको मनोनयन प्राप्त गरेका छन्। गत वर्ष ‘ह्यामनेट’ले पिपुल्स च्वाइस अवार्ड जितेको थियो र पछि ओस्कारमा आठ विधामा मनोनयन प्राप्त गरेको थियो।
यस्तै, फेस्टिभलमा यस वर्ष पिटर फेरेल्ली निर्देशित फिल्म पहिलो रनरअप ‘आई प्ले रकी’ भएको छ। सेकेन्ड रनरअप सियान हेडर निर्देशित ‘बिइङ ह्युमन’ले पाएको छ। यो फिल्म अपांगता अधिकारकी अग्रणी अभियन्ता जुडी ह्युमनको जीवनकथामा आधारित छ। अन्तर्राष्टिय पिपुल्स च्वाइसल तर्फको अवार्ड ‘एल्सिनोर’ले पाएको छ। जसलाई साइमन स्टोनले निर्देशन गरेका हुन्।
अन्तर्राष्ट्रिय फिल्मतर्फ पहिलो रनर–अप लि चाङ–डोङ निर्देशित कोरियन ड्रामा ‘पसिबल लभ’ बन्यो। दोस्रो रनर–अप हु जिन–हो निर्देशित कोरियन प्रक्रियात्मक फिल्म ‘द असासिन’ले जित्यो।
त्यस्तै, पिपुल्स च्वाइस डकुमेन्ट्री अवार्ड ब्यारी एभरिच निर्देशित ‘डार्लिन लभः आई नो वेयर आइहेब बिन’ले जितेको छ। पहिलो रनअरप जेम्स मार्कस हेनी निर्देशित ‘ब्ल्याक सनफ्लावर्स’ले पायो भने मिला आङ–थ्विन निर्देशित ‘द अल्ट्रा रनले दोस्रो रनरअप अवार्ड पायो।
फेस्टिभलको पिपुल्स च्वाइस मिडनाइट म्याडनेस विधातर्फको अवार्ड म्याथ्यु र्यांकिन निर्देशित ‘लेडिज एन्ड जेन्टलमेन, ब्रायन मलरोनी’ले पाएको छ। पहिलो उपविजेता पाओलो स्ट्रिपोली निर्देशित ‘द स्पाइरल’ भयो भने दोस्रो उपविजेता साबु निर्देशित ‘अरेस्टेड मेमोरी’ घोषित भयो।
भारतीय फिल्म ‘आङ’ले प्लेटफर्म अवार्ड प्राप्त गरेको छ। यसलाई थेजा रियोले निर्देशन गरेका हुन्। यस वर्ष ‘पिपुल्स च्वाइस अवार्ड, ‘प्लेटफर्म प्राइज’ साथै दुईवटा क्यानेडियन फिचर फिल्म पुरस्कार, ‘सर्ट कट्स’, फिप्रेस्की, र ‘नेटप्याक’ अवार्डहरू समावेश थिए। उत्कृष्ट चलचित्र र उदाउँदा प्रतिभाहरूलाई सम्मान गर्दै कुल १२ वटा अवार्डहरू प्रदान गरिएका छन्।
क्यानडाको टोरन्टो सहरमा ११ दिनसम्म चलेको फेस्टिभलमा ७२ देशका २९४ चलचित्रहरु प्रदर्शन गरिएका थिए। ९८ वटा रेड कार्पेट कार्यक्रममार्फत आठ सयभन्दा बढी प्रतिभाहरूलाई स्वागत गरिएको थियो। फेस्टिभलमा यस वर्ष विश्वभरका २७९ चलचित्रर्मीहरूको सहभागिता थियो।